

काठमाडौं – काठमाडौं उपत्यकासहित देशभर भाइरल ज्वरो र रुघाखोकीका बिरामीको सङ्ख्या तीव्र रूपमा बढिरहेको छ। मौसम परिवर्तनसँगै बढ्दो वायु प्रदूषणका कारण भाइरल ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, टाउको दुख्ने तथा श्वासप्रश्वाससम्बन्धी समस्याका बिरामी बढ्दै गएको चिकित्सकहरूले बताएका छन्।
विशेषगरी काठमाडौं उपत्यकाजस्ता सहरी क्षेत्रमा वायु प्रदूषण उच्च रहेकाले समस्या अझ जटिल बन्दै गएको चिकित्सकको भनाइ छ। पछिल्ला केही दिनयता निजामती कर्मचारी अस्पताल (सिभिल), वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल लगायत निजी तथा सरकारी अस्पतालहरूमा भाइरल ज्वरो र रुघाखोकीका बिरामीको चाप उल्लेख्य रूपमा बढेको छ।
निजामती कर्मचारी अस्पतालमा कार्यरत फिजिसियन डा. जेन्नर कुरुङबाङका अनुसार पछिल्ला केही सातादेखि अस्पतालको बहिरङ्ग विभाग (ओपीडी) मा आउने बिरामीमध्ये आधाभन्दा बढी रुघाखोकी तथा भाइरल ज्वरोको समस्यासहित आउने गरेका छन्। उनले कतिपय बिरामीलाई श्वासप्रश्वासमा कठिनाइ भएपछि भर्ना गरेर उपचार गर्नुपरेको जानकारी दिए।
डा. कुरुङबाङका अनुसार सबै उमेर समूहमा समस्या देखिए पनि बालबालिका, ६० वर्षमाथिका ज्येष्ठ नागरिक तथा मधुमेह, उच्च रक्तचापजस्ता दीर्घरोग भएका बिरामी बढी जोखिममा रहेका छन्।
वायु प्रदूषण र सङ्क्रमणको दोहोरो जोखिम
मौसम परिवर्तनसँगै विभिन्न भाइरसहरू सक्रिय हुने भएकाले हरेक वर्ष यही समयतिर रुघाखोकी र भाइरल ज्वरोका बिरामी बढ्ने गरेको डा. कुरुङबाङले बताए। चिसो मौसम सकिएर गर्मी सुरु हुने सङ्क्रमणकालीन समयमा शरीरको प्रतिरक्षा प्रणाली कमजोर बन्ने हुँदा सङ्क्रमणको जोखिम अझ बढ्ने उनको भनाइ छ।
विशेषगरी बिहान र साँझको तापक्रममा हुने उतारचढावले बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरू बढी प्रभावित हुने देखिएको छ। त्यसमा पनि काठमाडौं उपत्यकासहित विभिन्न सहरी क्षेत्रमा बढ्दो वायु प्रदूषणले समस्या झनै गम्भीर बनाएको चिकित्सकहरूको निष्कर्ष छ।
धुलो, धुवाँ र प्रदूषित हावाका कारण श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण छिटो फैलिने, रुघाखोकी र भाइरल ज्वरोको जोखिम बढ्ने डा. कुरुङबाङको तर्क छ। प्रदूषणका कारण घाँटीमा जलन, सुक्खा खोकी तथा एलर्जीसम्बन्धी समस्या पनि बढ्दै गएको उनले बताए।
जोखिममा को–को ?
५ वर्षमुनिका बालबालिका र ६० वर्षमाथिका ज्येष्ठ नागरिक
मधुमेह, उच्च रक्तचाप र मिर्गौलासम्बन्धी दीर्घरोगी
दम तथा अन्य श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्ति
देखिने मुख्य लक्षण
रुघाखोकी लागेका बिरामीमा नाक बग्ने वा बन्द हुने, हाछ्युँ आउने, घाँटी दुख्ने वा खसखस हुने, सुक्खा खोकी लाग्ने, टाउको भारी हुने, हल्का ज्वरो आउने तथा शरीर थकान हुनेजस्ता लक्षण देखिने गर्छन्। यस्तो समस्या सामान्यतया ३ देखि ७ दिनभित्र आफैँ निको हुने डा. कुरुङबाङले बताए।
त्यसैगरी भाइरल ज्वरोका बिरामीमा अचानक ज्वरो आउने, शरीर दुख्ने, टाउको दुख्ने, आँखा भारी हुने, कमजोरी र थकान हुनेजस्ता लक्षण देखिन्छन्। कतिपयमा वान्ता वा झाडापखालासमेत हुने गरेको उनले जानकारी दिए।
भाइरल ज्वरो प्रायः ३ देखि ५ दिनसम्म रहने र पर्याप्त आराम, झोलिलो खानेकुरा तथा प्रशस्त पानी सेवन गर्दा निको हुने गर्दछ। तर ज्वरो लामो समयसम्म नघटेमा, सास फेर्न गाह्रो भएमा, छाती दुखेमा, अत्यधिक कमजोरी वा बेहोस हुने अवस्था आएमा ढिला नगरी नजिकको स्वास्थ्य संस्थामा गई चिकित्सकको सल्लाहअनुसार उपचार गराउनुपर्ने उनको सुझाव छ।
बच्ने उपाय
मास्कको प्रयोग: धुलो र धुवाँबाट जोगिन घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउने
खानपान: तातो तथा झोलिलो खानेकुरा खाने, प्रशस्त पानी पिउने
सरसफाइ: नियमित साबुन–पानीले हात धुने, भीडभाडबाट टाढा रहने
आराम: सङ्क्रमण भएको बेला शरीरलाई पर्याप्त आराम दिने
डा. कुरुङबाङले वायु प्रदूषण अझै केही साता उच्च रहने सम्भावना रहेकाले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीले अतिरिक्त सतर्कता अपनाउन आग्रह गरेका छन्।


