

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले बालबालिकामा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवर्द्धन गर्ने उद्देश्यसहित विद्यालय केन्द्रित ‘साना डाक्टर कार्यक्रम’ सञ्चालन गर्ने भएको छ। कार्यक्रमको सुरुआत चार वटा सामुदायिक विद्यालयमा नमूना परियोजनाका रूपमा गरिनेछ।
कार्यक्रमको अवधारणा, कार्यान्वयन रणनीति र प्रभावकारिताबारे छलफल गर्न बुधबार ‘साना डाक्टर सम्बन्धी एकदिने कार्यशाला’ आयोजना गरिएको थियो। कार्यशालामा जनप्रतिनिधि, शिक्षा तथा स्वास्थ्य समितिका पदाधिकारी, महानगरपालिकाका शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्र हेर्ने विभागीय प्रतिनिधि, विद्यालय नर्स तथा साझेदार संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यशालालाई सम्बोधन गर्दै महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बालबालिकामा स्वास्थ्य सचेतना बढाउन र सहसिकाइ (peer learning) प्रवर्द्धन गर्न साना डाक्टर कार्यक्रम प्रभावकारी माध्यम हुने बताइन्। उनले विद्यालयमा कार्यक्रम लैजाँदा कार्यान्वयनकर्तालाई बोझ महसुस नहुने गरी डिजाइन गर्नुपर्नेमा जोड दिँदै भनिन्,
“जसरी पनि लागू गर्नुपर्छ भन्ने दबाब होइन, कार्यान्वयनमा जान सक्ने तत्परता जागृत गराउनुपर्छ। त्यसो भए मात्र कार्यक्रम दिगो र प्रभावकारी हुन्छ। यसको नतिजा ढिलो देखिए पनि दीर्घकालीन रूपमा सकारात्मक हुन्छ।”
सामुदायिक विद्यालयमा कार्यक्रम सफल बनाएपछि संस्थागत विद्यालयहरूमा समेत विस्तार गर्नुपर्ने उनको भनाइ थियो। साथै उनले विद्यालयस्तरमा किशोर–किशोरी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी कार्यक्रमको आवश्यकता औँल्याइन्।
शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई सकारात्मक प्रतिस्पर्धामा उभिन सक्ने आत्मविश्वासयुक्त बनाउनुपर्ने बताए। उनका अनुसार पुस्तकरहित शुक्रबारभित्र सञ्चालन हुने कार्यक्रमहरूको प्रभावकारी सिकाइका लागि थप मिहिनेत आवश्यक छ।
स्वास्थ्य विभागका प्रमुख दीपककुमार के.सी.ले नमूना कार्यक्रमबाट प्राप्त पृष्ठपोषणका आधारमा साना डाक्टर कार्यक्रमलाई वृहत् रूप दिने जानकारी दिए।
“सम्भवतः विद्यालयस्तरमा यो कार्यक्रम पहिलो हुनेछ। यसलाई नतिजामुखी बनाइनेछ,” उनले भने।
क्षेत्रगत पृष्ठपोषण दिने क्रममा सामाजिक विकास विभागकी प्रमुख समीक्षा निरौलाले बालमैत्री स्थानीय शासनका लागि विद्यालयहरूमा क्लब गठन गर्ने कार्यक्रमबारे उल्लेख गर्दै स्वास्थ्य विभागसँग सहकार्य गरेर अघि बढ्ने योजना रहेको बताइन्। शिक्षा अधिकृत केशव ज्ञवालीले विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षकहरूलाई कार्यक्रमका सूक्ष्म पक्ष राम्ररी बुझाउन सके कार्यान्वयन सहज हुने धारणा राखे।
विद्यालयमा अध्ययनरत छात्रछात्रालाई स्वास्थ्यसम्बन्धी विषयमा प्रशिक्षित गरी उनीहरूलाई स्वास्थ्य दूतका रूपमा विकास गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो। विद्यार्थीमार्फत आफू, परिवार र समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ।
स्वास्थ्य विभागका मेडिकल अधिकृत डा. दिवश न्यौपानेका अनुसार कार्यक्रममा व्यक्तिगत सरसफाइ तथा स्वच्छता, पोषण, जीवनशैली र नसर्ने रोग, सरुवा रोग तथा एन्टिमाइक्रोवियल रेसिस्टेन्स, प्राथमिक उपचार र सुरक्षा, साथै मानसिक स्वास्थ्य र नेतृत्वसम्बन्धी गरी पाँच वटा विषयमा प्रशिक्षण प्रदान गरिनेछ।



