
काठमाडौं- नेपालमा नवजात शिशु मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रहेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण अनुसार सुदूरपश्चिम प्रदेशमा प्रति हजार जीवित जन्ममा २६ जना नवजात शिशुको मृत्यु हुने गरेको छ।
सर्वेक्षणका अनुसार सबैभन्दा कम नवजात शिशु मृत्युदर बागमती प्रदेशमा रहेको छ, जहाँ प्रति हजार जन्ममा १० जनाको मृत्यु हुने गरेको देखिएको छ।
शिशु मृत्युदर (एक वर्षमुनिका) पनि सुदूरपश्चिम प्रदेशमै उच्च देखिएको छ। तथ्याङ्क अनुसार सुदूरपश्चिममा प्रति हजार जन्ममा ३८ जना शिशुको मृत्यु हुने गरेको छ भने बागमती प्रदेशमा यो दर सबैभन्दा कम १७ रहेको छ।
त्यस्तै, पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर पनि सुदूरपश्चिममै सबैभन्दा बढी देखिएको छ। सुदूरपश्चिममा प्रति हजार जन्ममा ४८ जना बालबालिकाको मृत्यु हुने गरेको छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा २० जना मात्र रहेको सर्वेक्षणले देखाएको छ।
समग्र रूपमा नेपालमा एक वर्ष उमेर नपुग्दै मृत्यु हुने शिशुको संख्या प्रति हजार जन्ममा २७, पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर ३१ र नवजात शिशुको (एक महिनाभित्र) मृत्युदर १७ रहेको तथ्याङ्कमा उल्लेख छ। सर्वेक्षणअनुसार नेपालको कुल प्रजनन दर १५–४९ वर्ष उमेर समूहका प्रति महिलामा औसत १.९ जीवित बच्चा रहेको छ।
बाल पोषणतर्फ हेर्दा, पाँच वर्षमुनिका बालबालिकामध्ये २४.३ प्रतिशत कम तौलका र ३१.५ प्रतिशत कम उचाइका रहेका छन्। उचाइअनुसार तौल कम भएका बालबालिका ७.६ प्रतिशत छन्। उमेरअनुसार तौल कम हुने समस्या सबैभन्दा बढी मधेश प्रदेशमा ३३.२ प्रतिशत देखिएको छ भने सबैभन्दा कम बागमती प्रदेशमा ९.६ प्रतिशत मात्र रहेको छ।
स्तनपानको सन्दर्भमा, तीनमध्ये दुई जना आमाले मात्र जन्मदेखि ६ महिनासम्म आमाको दूध खुवाउने गरेको पाइएको छ। यो दर सुदूरपश्चिममा सबैभन्दा बढी ७६.६ प्रतिशत, त्यसपछि मधेशमा ७२.३ प्रतिशत र कर्णालीमा ७१.६ प्रतिशत रहेको छ।
त्यस्तै, १२–२३ महिनाका ८०.७ प्रतिशत बालबालिकाले मात्र पहिलो वर्षमै सबै खोप पूरा गरेको देखिएको छ। ३६–५९ महिनाका बालबालिकामध्ये ५७.९ प्रतिशत मात्र प्रारम्भिक बालशिक्षा कार्यक्रममा सहभागी हुने गरेको सर्वेक्षणले देखाएको छ।


