

काठमाडौं- टुथपेस्टलगायत दैनिक प्रयोगमा आउने विभिन्न सौन्दर्य सामग्रीमा मानव स्वास्थ्यका लागि हानिकारक सिसा (लिड)को मात्रा बढी पाइएपछि नेपाल चिकित्सक सङ्घले सरकारसँग कडा नियमनको माग गरेको छ।
सङ्घले जारी गरेको विज्ञप्तिमा दैनिक प्रयोग हुने टुथपेस्ट, मुख तथा दन्त सरसफाइका सामग्री, साथै अन्य सौन्दर्य सामग्रीमा अत्यधिक सिसा मिसिएको पाइएको भन्दै चिन्ता व्यक्त गरेको छ। यस्ता सामग्रीले बालबालिकादेखि आम नागरिकसम्मको स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले तत्काल गुणस्तर परीक्षण, मापदण्ड सुनिश्चित र कडा निगरानी आवश्यक रहेको सङ्घले जनाएको छ।
जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रले गरेको अध्ययनअनुसार देशका विभिन्न शहरका पसलबाट सङ्कलन गरिएका नमुनामध्ये ३१ प्रतिशतमा अन्तर्राष्ट्रिय मापदण्डभन्दा बढी सिसा भेटिएको छ। अझ चिन्ताजनक कुरा, दैनिक प्रयोग हुने टुथपेस्टका ४५ प्रतिशत नमुनामा सिसा भेटिनु गम्भीर स्वास्थ्य जोखिमको संकेत भएको चिकित्सक सङ्घको भनाइ छ।
विश्व स्वास्थ्य सङ्गठनलगायत स्वास्थ्यसम्बन्धी निकायहरूले सिसा मानव शरीरका लागि अत्यन्त हानिकारक हुने पुष्टि गरिसकेका छन्। विशेषगरी बालबालिकामा सिसाले बौद्धिक विकासमा अवरोध, सिकाइमा कठिनाइ, व्यवहारिक समस्या, तथा दीर्घकालमा दृष्टि, श्रवण र स्नायु प्रणालीमा नकारात्मक असर पार्ने विज्ञप्तिमा उल्लेख छ।
सङ्घले सरकारले बजारमा उपलब्ध यस्ता सामग्रीको तत्काल परीक्षण गरी दोषी उत्पादन तथा आयातकर्तामाथि कारबाही गर्नुपर्ने माग पनि गरेको छ।



