

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले ललितपुरस्थित मानसिक अस्पताल र पशुपति होमियोप्याथिक अस्पतालको स्थलगत अनुगमन गरेकी छन्।
अनुगमनका क्रममा मन्त्री गौतमले दुवै अस्पतालको भौतिक पूर्वाधार, सेवा प्रवाहको अवस्था तथा बिरामीहरूको पहुँचबारे विस्तृत जानकारी लिएकी हुन्।
अस्पताल प्रशासनसँग भएको छलफलमा मन्त्री गौतमले स्वास्थ्य सेवालाई अझ प्रभावकारी, गुणस्तरीय र बिरामीमैत्री बनाउन आवश्यक सुधारका कदम चाल्नुपर्नेमा जोड दिइन्। उनले सेवा प्रवाहमा देखिएका कमजोरी पहिचान गरी तत्काल सुधार योजना तयार गर्न निर्देशन पनि दिइन्।
अनुगमनपछि मन्त्री गौतम र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनबीच जनस्वास्थ्यका एजेन्डामा केन्द्रित विशेष भेटघाट सम्पन्न भएको छ।
भेटघाटमा विशेषगरी स्वास्थ्य बीमा कार्यक्रमलाई आम नागरिकको पहुँचसम्म पुर्याउन महानगरपालिकाले गरिरहेका प्रयासहरू तथा आगामी दिनमा मन्त्रालय र स्थानीय सरकारबीच हुन सक्ने नीतिगत र व्यावहारिक सहकार्यका विषयमा गहिरो छलफल भएको बताइएको छ।
मन्त्री गौतमले संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्य बलियो बनाएर मात्रै सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न सकिने उल्लेख गरिन्। साथै, महानगरपालिकासँगको समन्वयमार्फत स्वास्थ्य बीमा र प्राथमिक स्वास्थ्य सेवाको पहुँच विस्तार गरिने प्रतिबद्धता व्यक्त गरिन्।



