

नेपालगन्ज- पश्चिम नेपालका विपन्न तथा गरिब बिरामीको आशा र भरोसाको केन्द्रका रूपमा चिनिँदै आएको नेपालगन्जस्थित भेरी अस्पतालमा क्यान्सर लगायतका गम्भीर रोगको पहिचान गर्ने हिस्टोप्याथोलोजी सेवा विस्तार गरिएको छ।
शरीरको कुनै भागबाट सानो मासु (स्पेसिमेन) निकालेर माइक्रोस्कोपमार्फत रोगको अवस्था पहिचान गर्ने प्रक्रियालाई हिस्टोप्याथोलोजी भनिन्छ। यो सेवाबाट क्यान्सर तथा अन्य रोगको समयमै पहिचान गर्न सकिने भएकाले उपचार प्रक्रिया पनि सहज र प्रभावकारी हुने अस्पतालले जनाएको छ।
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीका अनुसार, अस्पतालमै हिस्टोप्याथोलोजी सेवा सुरु भएसँगै अब क्यान्सर तथा अन्य जटिल रोगको पहिचानका लागि नमुना बाहिर पठाउनुपर्ने बाध्यता हटेको छ। यसअघि बाहिर पठाउँदा रिपोर्ट आउन लामो समय लाग्ने समस्या थियो।
‘ढिलै भए पनि अत्यन्तै महत्त्वपूर्ण यो सेवा सुरु गर्न सफल भएका छौं,’ डा. सुवेदीले भने, ‘यसले रोग निदानमा ठूलो उपलब्धि दिलाउने हाम्रो अपेक्षा छ।’
भेरी अस्पतालको प्याथोलोजी विभाग प्रमुख डा. शर्मिला गुप्ताका अनुसार, हिस्टोप्याथोलोजी सेवा विस्तार भएपछि क्यान्सर, क्षयरोग (टी.बी.), अटो–इम्युन रोग, मिर्गौला, पेट, कलेजो लगायत दीर्घकालीन रोगहरूको प्रकार पहिचान गर्न महत्वपूर्ण सहयोग पुग्नेछ।
डा. गुप्ताले भने, ‘हिस्टोप्याथोलोजीमार्फत एपेन्डिस, पित्तथैली, प्रोस्टेटजस्ता शरीरबाट निकालिएका अङ्गहरू रोगग्रस्त छन् वा छैनन् भन्ने कुरा पनि स्पष्ट रूपमा पत्ता लगाउन सकिन्छ।’ उहाँका अनुसार यो सेवा सुरु भएसँगै प्याथोलोजी विभागले पूर्णता प्राप्त गरेको छ।
अस्पतालका अनुसार हिस्टोप्याथोलोजी सेवाले क्यान्सरजस्ता गम्भीर रोग पहिचान गर्न, रोगको प्रकार र अवस्था बुझ्न, रोग कति फैलिएको छ भन्ने जानकारी लिन तथा उचित उपचार योजना बनाउन सहज बनाउँछ।
भेरी अस्पतालका कन्सल्टेन्ट प्याथोलोजिस्ट डा. सुरेशमान श्रेष्ठले हाल अस्पतालमा हिस्टोप्याथोलोजीका आधारभूत सेवाहरू सञ्चालनमा रहेको जानकारी दिए। उनका अनुसार आगामी दिनमा स्तरीय स्टेनिङ तथा इम्युनोहिस्टोकेमिस्ट्रीजस्ता थप आधुनिक सेवा विस्तार गर्ने योजना छ।
पश्चिम नेपालकै पुराना तथा सङ्घीय अस्पतालमध्ये एक भेरी अस्पतालमा ढिलै भए पनि यो सेवा सुरु भएपछि यस क्षेत्रका बिरामीहरूलाई ठूलो राहत पुगेको अस्पताल विकास समितिका सदस्य डा. डक्टप्रसाद धितालले बताए।
यसैबीच अस्पतालले केही दिनभित्रै बोन म्यारो एस्पिरेसन (हड्डीभित्रको मासु निकालेर जाँच गर्ने प्रक्रिया) सेवा पनि सुरु गर्ने तयारी अगाडि बढाएको जनाएको छ।



