

काठमाडौँ- काठमाडौं महानगरपालिकाले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै पुगेर आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम सुरु गरेको छ। कार्यक्रमअन्तर्गत आजदेखि महानगरले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे घरघरमै पुगेर सर्वेक्षण थालेको हो।
महानगरका अनुसार सेवा प्रवाहका लागि खटिने नर्सिङ कर्मचारीलाई आवश्यक तालिम प्रदान गरिसकिएको छ। उनीहरूलाई स्वास्थ्य परीक्षणका सामग्री, औषधि तथा डिजिटल सर्वेक्षणका लागि ट्याबलेटलगायतका उपकरणसमेत उपलब्ध गराइएको छ।
कार्यवाहक प्रमुख सुनिता डंगोलले सेवामा खटिने कर्मचारीले पदीय जिम्मेवारीसँगै मानवीय संवेदनशीलता देखाउनुपर्ने बताइन्। उनले भनिन्, “कोही नभएका ज्येष्ठ नागरिकलाई आवश्यक पर्दा सहयोग गर्ने कोही रहेछ भन्ने अनुभूति दिलाउने व्यवहार गर्नुहोला। आर्थिक अभाव वा पारिवारिक साथ नहुँदा उहाँहरूबाट अपेक्षित व्यवहार नआउन सक्छ, त्यसलाई स्वाभाविक रूपमा लिनुहोस्। सम्झाएर, बुझाएर, सहज वातावरणमा सेवा दिनुहोला।”
महानगरले सम्पत्ति भए पनि सहयोग गर्ने परिवारका सदस्य नभएका ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर घरमै सेवा दिने लक्ष्यसहित सर्वेक्षण सुरु गरिएको जनाएको छ। शारीरिक अशक्तता, दीर्घ रोगका कारण हिँडडुल गर्न नसक्ने तथा नियमित रूपमा स्वास्थ्य संस्थामा जान असमर्थ ज्येष्ठ नागरिकलाई लक्षित गरी घरमै स्वास्थ्यकर्मी पठाउने तयारी गरिएको छ।
स्वास्थ्य विभागका प्रमुख दीपक केसीका अनुसार कार्यक्रमअन्तर्गत औषधि व्यवस्थापन, पोषण परामर्श तथा आधारभूत स्वास्थ्य सेवाहरू प्रदान गरिने छन्। कार्यक्रमका फोकल पर्सन तथा अस्पताल नर्सिङ निरीक्षक कल्पना श्रेष्ठले ज्येष्ठ नागरिकलाई सहज रूपमा भेट्न र आवश्यक परामर्श दिन वडा कार्यालय तथा महिला स्वास्थ्य स्वयंसेविकासँग समन्वय गरिने जानकारी दिइन्।



