

मुगु- बदलिँदो जीवनशैलीसँगै फिजियोथेरापी उपचारप्रति जनविश्वास बढ्दै जाँदा गण्डकी अस्पतालको फिजियोथेरापी विभागमा उपचारका लागि आउने बिरामीको सङ्ख्या दिनप्रतिदिन उल्लेख्य रूपमा वृद्धि हुँदै गएको छ।
मानव स्वास्थ्यमा फिजियोथेरापीको महत्त्वबारे चेतना बढेसँगै हाडजोर्नी तथा नशासम्बन्धी समस्याका बिरामीहरू फिजियोथेरापीलाई प्रभावकारी उपचार विधिका रूपमा अपनाउन थालेका छन्। यसका कारण गण्डकी अस्पतालको फिजियोथेरापी ओपिडीमा दैनिक ६० देखि ९० जना बिरामीले उपचार तथा परामर्श लिने गरेका छन्।
गण्डकी अस्पताल फिजियोथेरापी विभागका चिकित्सक अजित पाण्डेका अनुसार करिब एक दशकअघि अस्पतालमा फिजियोथेरापी सेवा सुरु गर्दा अधिकांश सेवाग्राहीलाई फिजियोथेरापी के हो भन्ने सामान्य जानकारीसमेत थिएन। “त्यो समयमा फिजियोथेरापीलाई धेरैले औषधि उपचारसँग मात्र तुलना गर्थे,” उनले भने।
तर पछिल्लो समय घुँडा दुखाइ, ढाड तथा गर्धनको समस्या, नशा च्यापिएको, कुम जाम भएको लगायतका दीर्घ समस्यामा फिजियोथेरापी उपचारले दीर्घकालीन लाभ दिने विश्वास बढ्दै गएको चिकित्सक पाण्डे बताउनुहुन्छ। अहिले त हाडजोर्नी तथा नशासम्बन्धी समस्या भएका बिरामीहरू चिकित्सकको सिफारिसबिनै सिधै फिजियोथेरापी विभागमा परामर्श लिन आउने गरेका छन्।
यद्यपि फिजियोथेरापीसम्बन्धी अझै व्यापक जनचेतना फैलाउन आवश्यक रहेको उनको भनाइ छ।
फिजियोथेरापी के हो ?
सामान्य भाषामा थेरापी भनेको उपचार हो। फिजियोथेरापी भनेको शारीरिक व्यायाम तथा विभिन्न उपकरणको सहायताले गरिने उपचार विधि हो। यस उपचार पद्धतिमा औषधिको प्रयोग नगरी शरीरका समस्या समाधान गरिने भएकाले साइड इफेक्टको जोखिम कम हुने चिकित्सकहरूको भनाइ छ।
फिजियोथेरापी फिटनेसका लागि, रोगको रोकथामका लागि तथा रोग लागिसकेपछि उपचारका लागि अत्यन्त प्रभावकारी मानिन्छ। हाडजोर्नीसम्बन्धी समस्या, घुँडा दुखाइ, ढाड तथा गर्धनको नशा च्यापिएको अवस्था, कुम जाम भएको, प्यारालाइसिस (स्ट्रोक), जन्मजात शिशुका हातखुट्टा नचल्ने समस्या, प्लाष्टरपछि जोर्नी जाम भएको अवस्था, अप्रेसनपश्चात तथा स्वासप्रस्वाससम्बन्धी रोग (निमोनिया) मा फिजियोथेरापी उपयोगी हुने चिकित्सक पाण्डेले जानकारी दिए।
फिजियोथेरापी र थेरापीबीचको फरक
अस्पतालमा आउने धेरै बिरामीहरूले ‘थेरापी गराउनु छ’ भन्ने गरे पनि वास्तविक उपचार विधि फिजियोथेरापी नै भएको चिकित्सक पाण्डे बताउनुहुन्छ। फिजियोथेरापीमा रोगको पहिचान गरी आवश्यक व्यायाम, विद्युतीय उपकरण तथा म्यानुअल थेरापी (हातले गरिने उपचार) प्रयोग गरेर उपचार गरिन्छ।
फिजियोथेरापीको अर्थ प्रष्ट नहुँदा कतिपय बिरामीहरूले यसलाई न्याचुरोथेरापी वा आयुर्वेदिक थेरापीसँग भ्रमित हुने गरेको भन्दै सही जानकारी लिन आवश्यक रहेको उनले जोड दिए। फिजियोथेरापीको व्यापक प्रचार–प्रसार भएमा समाजमा मानिसहरूले सरल, सहज र सुलभ रूपमा आरोग्यता प्राप्त गर्न सक्ने चिकित्सकहरूको विश्वास छ।



