

काठमाडाैं- पछिल्लो समय नेपालमा नसर्ने रोग, विशेषगरी क्यान्सर, गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा देखिन थालेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा हाल ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी पहिचान भएका छन्।
आर्थिक वर्ष २०८१–०८२ को प्रदेशगत तथ्यांक अनुसार बागमती प्रदेशमा क्यान्सरका बिरामीको सङ्ख्या सबैभन्दा धेरै देखिएको छ। उपलब्ध तथ्यांकअनुसार बागमती प्रदेशमा क्यान्सरका बिरामी ८५ हजार ४०० पुगेका छन्, जुन अन्य सबै प्रदेशको तुलनामा अत्यधिक हो।
त्यसैगरी कोशी प्रदेशमा ११ हजार ७२७ जना क्यान्सरका बिरामी रहेका छन्। गण्डकी प्रदेशमा २४५, लुम्बिनी प्रदेशमा २२३, मधेश प्रदेशमा २०६, कर्णाली प्रदेशमा १५४ र सुदूरपश्चिम प्रदेशमा १२५ जना क्यान्सरका बिरामी दर्ता भएको तथ्यांकमा उल्लेख छ।
विशेषज्ञहरूका अनुसार बागमती र कोशी प्रदेशमा बिरामीको सङ्ख्या बढी देखिनुका पछाडि उच्च जनघनत्व, तीव्र सहरीकरण, अस्वस्थ जीवनशैली, रासायनिक विषादीको अत्यधिक प्रयोग, वातावरणीय प्रदूषण तथा उपचार र परीक्षण केन्द्रहरूको पहुँच प्रमुख कारण हुन्। अन्य प्रदेशमा बिरामीको सङ्ख्या कम देखिए पनि परीक्षण तथा उपचारको पहुँच सीमित भएकाले वास्तविक सङ्ख्या अझै बढी हुन सक्ने अनुमान गरिएको छ।
विश्व स्वास्थ्य संगठन कर्णाली प्रदेशका प्रमुख प्रदीप अधिकारीका अनुसार क्यान्सर नियन्त्रणका लागि प्रारम्भिक पहिचान, नियमित स्वास्थ्य परीक्षण, जनचेतना अभिवृद्धि तथा प्रदेशगत रूपमा उपचार पूर्वाधार सुदृढ गर्नु अपरिहार्य छ।
“नसर्ने रोगहरू मुख्यतः अस्वस्थ खानपान, सुर्तीजन्य पदार्थको सेवन र असन्तुलित जीवनशैलीका कारण बढ्दै गएका छन्,” उनले भने, “नेपालमा हरेक वर्ष करिब ३९ हजार ९०० जनाको मृत्यु सूर्तिजन्य पदार्थको सेवनकै कारण हुने गरेको छ, जसलाई गम्भीर सार्वजनिक स्वास्थ्य संकटका रूपमा लिनुपर्छ।”



