
कैलाली- सुदूरपश्चिम प्रदेशमा पछिल्लो तीन वर्षयता बाल कुपोषणको अवस्था झन् गम्भीर बन्दै गएको छ। स्वास्थ्य निर्देशनालय डोटीले सन् २०२५ मा गरेको ‘स्मार्ट प्लस’ अध्ययनले ६ देखि ५९ महिनासम्मका बालबालिकामा शीघ्र कुपोषणको दर तीव्र रूपमा बढेको तथ्य सार्वजनिक गरेको हो।
अध्ययन अनुसार सुदूरपश्चिममा शीघ्र कुपोषणको दर १५ दशमलव ८ प्रतिशत पुगेको छ। यसको अर्थ, यहाँका प्रत्येक एक सय बालबालिकामध्ये झन्डै १६ जनामा उचाइअनुसार आवश्यक तौल छैन। सन् २०२२ मा गरिएको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणमा यो दर मात्र ५ प्रतिशत थियो। तीन वर्षमै यो दर तीन गुणा बढ्नुले बाल स्वास्थ्यमा गहिरो संकटको संकेत गरेको छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र युनिसेफका मापदण्ड अनुसार शीघ्र कुपोषणको दर १५ प्रतिशत वा सोभन्दा माथि पुग्नु ‘अति उच्च’ र जनस्वास्थ्य आपतकालको संकेत मानिन्छ। यही सन्दर्भमा सुदूरपश्चिम प्रदेशमा ६ महिनादेखि ५९ महिनासम्मका उमेर समूहका बालबालिकामध्ये एक सयमा २५ जनाको उमेरअनुसार तौल नै नपुगेको पाइएको छ। सन् २०२२ मा यो अवस्था एक सयमा १४ जनामा मात्र सीमित थियो।
पोषणको दृष्टिकोणले यस्तो अवस्था आउनु गम्भीर चेतावनी भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवर बताउँछन्। उनका अनुसार सुदूरपश्चिमको अवस्था अब सामान्य समस्या नभई जनस्वास्थ्य आपतकालतर्फ उन्मुख छ।
अध्ययनले सुदूरपश्चिममा बालबालिकाको उमेरअनुसार शारीरिक वृद्धि र विकास हुन नसकेको स्पष्ट देखाएको छ। कम तौल र कम उचाइको समस्या व्यापक रूपमा बढ्दै गएको प्रतिवेदनको निष्कर्ष छ, जसले कुपोषणको समस्या विकराल बन्दै गएको पुष्टि गर्छ।
किन बढ्दै छ शीघ्र कुपोषण ?
स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरका अनुसार ६ देखि २३ महिनासम्मका बालबालिकामा कुपोषण बढ्नुका पछाडि बहुआयामिक कारण छन्। सरकारले उपलब्ध गराउँदै आएको बालभिटासमेत सबै बालबालिकाले उपभोग नगरेको अध्ययनले देखाएको छ।
सरकारले भिटामिन र मिनरल्सको कमी हुन नदिन महिला स्वास्थ्य स्वयंसेविकामार्फत बालभिटा वितरण गर्दै आए पनि ५५ प्रतिशत बालबालिकाले मात्र नियमित रूपमा बालभिटा खाने गरेका छन्। अध्ययन अनुसार ४१ प्रतिशत बालबालिकाले बालभिटा सेवन नै गरेका छैनन् भने ४ प्रतिशत बालबालिका पहुँच बाहिर रहेका छन्।
३२ प्रतिशत आमाले पूर्ण स्तनपान नगराउने
अध्ययनले ६८ प्रतिशत आमाले मात्र ६ महिनासम्म शिशुलाई पूर्ण स्तनपान गराउने गरेको देखाएको छ। बाँकी ३२ प्रतिशत आमाले पूर्ण स्तनपान नगराउने गरेका छन्। वरिष्ठ जनस्वास्थ्य अधिकृत कुँवरका अनुसार ६ महिनासम्म अनिवार्य स्तनपान नगराउँदा बालबालिकामा शीघ्र कुपोषणको जोखिम अत्यधिक बढ्छ।
उनका अनुसार कतिपय आमाले सानै उमेरका बालबालिकालाई गुलियो पेय पदार्थ, चाउचाउ, बिस्कुट, कुरमुरे जस्ता पत्रुखाना खुवाउने प्रवृत्ति बढ्दा पनि कुपोषण समस्या गहिरिँदै गएको छ। यस्तै, ६ देखि २३ महिनासम्मका बालबालिकाको दैनिक आहारमा तरकारी र फलफूल अनिवार्य हुनुपर्नेमा ३१ प्रतिशत बालबालिकाको खानामा तरकारी र फलफूल नपर्ने गरेको अध्ययनले देखाएको छ, जसले शीघ्र कुपोषणको दर बढाएको निष्कर्ष निकालेको छ।




