

काठमाडौँ- छिमेकी मुलुक भारतमा निपाह भाइरसको संक्रमण पुष्टि भएपछि नेपालमा पनि संक्रमण फैलिन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च सतर्कता अपनाएको छ।
भारतको पश्चिम बंगालमा केही साताअघि निपाह भाइरसको संक्रमण देखिएपछि नेपालका सबै हवाई तथा थल नाकाबाट भित्रिने यात्रुको निगरानी सुरु गरिएको मन्त्रालयले जनाएको छ। न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हवाई र थल नाकामा स्थापना गरिएका हेल्थ डेस्कमार्फत संक्रमणका सम्भावित लक्षण देखिएका यात्रुमाथि निगरानी भइरहेको जानकारी दिए।
उनका अनुसार निपाह भाइरसको जोखिम नेपालमा उच्च रहेकाले संक्रमणको शंका भएका व्यक्ति नेपाल प्रवेश गरेमा तत्काल उपचारका लागि अस्पतालसमेत तोकिएको छ। ‘संक्रमण फैलिन नदिन सबै तयारी अवस्थामा छौँ,’ प्रवक्ता बुढाथोकीले भने।
निपाह भाइरस चमेरो, सुंगुर तथा संक्रमित व्यक्तिबाट सर्न सक्ने उल्लेख गर्दै उनले नागरिकस्तरमा पनि सचेतना फैलाइँदै आएको बताए। ‘निपाह संक्रमण फैलिएको क्षेत्रबाट आउने व्यक्तिलाई केही समय क्वारेन्टाइनमा राख्ने, उनीहरूसँग प्रत्यक्ष सम्पर्क नगर्ने जस्ता उपायबारे जनचेतना फैलाइरहेका छौँ,’ उनले भने।
यसअघि महामारी तथा रोग नियन्त्रण महाशाखाले देशभरका अस्पताललाई निपाह भाइरसका लक्षण देखिएका बिरामी तथा त्यस्ता लक्षणबाट मृत्यु भएका घटनाबारे तत्काल जानकारी दिन निर्देशन दिएको थियो।
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार निपाह भाइरस संक्रमित व्यक्तिमा ३ देखि १४ दिनभित्र लक्षण देखिन सक्छन्। यस अवधिमा ज्वरो, टाउको दुख्ने, खोकी, घाँटी दुख्ने, श्वासप्रश्वासमा समस्या देखिनुका साथै केही बिरामीमा मस्तिष्क सुन्निने समस्या समेत हुन सक्छ। गम्भीर अवस्थामा बिरामीमा भ्रम, अत्यधिक थकान र सिजर देखिन सक्ने चिकित्सकहरूले बताएका छन्।
केही घटनामा संक्रमित व्यक्ति २४ देखि ४८ घण्टाभित्रै कोमामा पुग्न सक्ने बताइएको छ। डब्ल्युएचओका अनुसार यस रोगबाट मृत्यु हुने जोखिम ४० देखि ७० प्रतिशतसम्म रहेको छ।
चिकित्सकहरूका अनुसार निपाह भाइरस पनि कोरोना भाइरसजस्तै जोनोटिक भाइरस हो, तर कोरोना भाइरसको तुलनामा यो अझ बढी प्राणघातक मानिन्छ। प्रायः संक्रमित जनावरबाट मानिसमा सर्ने यो भाइरस संक्रमित जनावरको मासु सेवन गर्दा पनि फैलिन सक्छ। विशेषगरी चमेरोबाट निपाह भाइरस सर्ने जोखिम उच्च रहने बताइन्छ।
निपाह भाइरसको पहिचान पहिलोपटक सन् १९९९ मा मलेसिया र सिंगापुरमा गरिएको थियो। त्यतिबेला संक्रमित सुंगुरसँग सम्पर्कमा आएका मानिसमा श्वासप्रश्वाससम्बन्धी समस्या र मस्तिष्क सुन्निने लक्षण देखिएको थियो।
भारतको पश्चिम बंगालमा सन् २००१ मा निपाह भाइरसको महामारी फैलिँदा ६६ जना संक्रमित भएका थिए, जसमा ४५ जनाको मृत्यु भएको थियो। सन् २००७ मा पुनः फैलिएको महामारीमा पाँच जना संक्रमितमध्ये सबैको ज्यान गएको थियो। त्यसैगरी सन् २०१८ मा भारतको केरलामा फैलिएको निपाह भाइरसबाट १७ जनाको मृत्यु भएको थियो।



