अछाम- अछामको बयालपाटा प्रादेशिक अस्पतालमा लामो समयदेखि रोकिएको स्वास्थ्य बीमा सेवा पुनः सुरु भएसँगै सर्वसाधारण बिरामीले फेरि राहत पाएका छन् । करिब पाँच महिनाको अवरोधपछि माघ १ गतेदेखि अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम पुनः लागू भएको हो, जसले जिल्लाका हजारौँ नागरिकका लागि उपचार पहुँच सहज बनाएको छ ।
यसअघि गैरसरकारी संस्था न्याय हेल्थ नेपालले व्यवस्थापन गर्दै आएको बयालपाटा अस्पताल भदौ १ गतेदेखि सुदूरपश्चिम प्रदेश सरकारको मातहतमा आएपछि अस्पतालको सेवा संरचनामा परिवर्तन भएको थियो । प्रशासनिक हस्तान्तरण र आवश्यक प्रक्रिया पूरा नहुँदा स्वास्थ्य बीमा सेवा अस्थायी रूपमा बन्द भएको थियो । सबै प्राविधिक तथा नीतिगत प्रक्रिया पूरा भएपछि पुनः बीमा सेवा सञ्चालनमा ल्याइएको बयालपाटा प्रादेशिक अस्पतालका कार्यकारी निर्देशक डा. मन्दीप पाठकले जानकारी दिए ।
उनका अनुसार पाँच महिनासम्म रोकिएको बीमा सेवा अब पूर्ण रूपमा सुचारु भएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत अस्पताल सञ्चालनमा आएपछि सुरुमा सरकारी मापदण्डअनुसार उपचार शुल्क तोकिएको थियो । तर स्वास्थ्य बीमा सेवा पुनः लागू भएसँगै बीमित बिरामीहरूले अब अस्पतालमा निःशुल्क उपचार पाउने व्यवस्था भएको छ ।
बीमा सेवा सुरु भएयता छोटो अवधिमै यसको प्रभाव देखिन थालेको छ । माघ १ गतेदेखि पाँच दिनभित्रै ७० जनाभन्दा बढी सेवाग्राहीले स्वास्थ्य बीमा अन्तर्गत उपचार सेवा लिइसकेको अस्पताल प्रशासनले जनाएको छ । यससँगै अस्पतालमा सामाजिक सुरक्षा इकाइ अन्तर्गतका अन्य सेवाहरू पनि पुनः सञ्चालनमा आएका छन् ।
अस्पताल प्रशासनका अनुसार अति विपन्न, असहाय तथा अपाङ्गता भएका बिरामीलाई वडा कार्यालय तथा स्थानीय तहको सिफारिसका आधारमा उपचारमा थप सहुलियत प्रदान गरिनेछ । यसले आर्थिक अभावकै कारण उपचारबाट वञ्चित हुने अवस्थालाई कम गर्ने अपेक्षा गरिएको छ ।
सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै अस्पतालमा चौबीसै घण्टा सञ्चालन हुने सशुल्क फार्मेसी सेवा पनि सुचारु गरिएको छ । बीमा सेवा पुनः सुरु भएसँगै बयालपाटा अस्पतालप्रति स्थानीयको भरोसा फेरि बढ्दै गएको स्थानीयको प्रतिक्रिया छ ।







