

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई नर्वेस्थित ‘लेर्डल ग्लोबल हेल्थ’ले कृत्रिम मानव ‘मेन्किन’ (सिमुलेसन मोडल) हस्तान्तरण गरेको छ ।
बुधबार आयोजित कार्यक्रममा मन्त्रालयका प्रवक्ता तथा स्वास्थ्य आपतकालीन सेवा केन्द्रका प्रमुख डा. प्रकाश बुढाथोकीलाई सो संस्थाका प्रमुख कार्यकारी अधिकृत क्यारोलिन माइक्लेबस्ट लिन्डेले उक्त कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा स्वास्थ्यमन्त्री डा. सुधा गौतमले नेपालको स्वास्थ्य प्रणालीमा सहयोग गरेकामा धन्यवाद दिँदै नेपालको स्वास्थ्य सुधार गर्न सहयोगी संस्थाको ठूलो योगदान रहेको बताइन् ।
उनले जेनजी आन्दोलनका बेला स्वास्थ्य आपतकालीन सेवा केन्द्र र यसका स्वास्थ्य उपकरणमा क्षति भएको उल्लेख गर्दै क्षति भएको उपकरण उपलब्ध गराएकामा सराहना व्यक्त गरिन् । मन्त्री डा. गौतमले नर्वे र नेपालको स्वास्थ्य क्षेत्रमा सहकार्य जारी राख्नुपर्ने बताइन् ।
नेपालका लागि नर्वेका राजदूत डाग्नी म्योसले नेपालमा आपतकालीन प्रणालीलाई थप सेवा गर्न तयार रहेको बताए ।
मन्त्रालयका प्रवक्ता बुढाथोकीले ११ वटा कृत्रिम मानव ‘मेन्किन’ निःशुल्क रुपमा प्राप्त भएको जानकारी दिए । उनका अनुसार नौ वटा ठूला मानिस र दुई वटा बालबालिका कृत्रिम मानव प्राप्त भएको छ ।
तिनलाई सात वटै प्रदेशमा एक/एकवटा र एक वटा स्वास्थ्य आपतकालीन सेवा केन्द्र र तीन वटा स्वास्थ्य तालिम केन्द्रमा राखिने छ ।



