काठमाडौँ- बुढ्यौलीसँगै महिला र पुरुष दुवैमा हाडजोर्नी कमजोर हुँदै जाने भए पनि तुलनात्मक रूपमा महिलामा कम उमेरमै हाडजोर्नीका समस्या देखिन सुरु हुने चिकित्सकहरू बताउँछन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तथ्यांकहरूले समेत महिलामा हाडजोर्नीका रोग बढी देखिने तथ्य पुष्टि गरेका छन्।
नेपाल प्रहरी अस्पतालको हाडजोर्नी विभागले सन् २०२५ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार रजनोवृत्तिपछि उपचारमा पुग्ने महिलामा हड्डीको घनत्व तीव्र रूपमा घट्ने अर्थात् ओस्टियोपोरोसिसको समस्या बढी देखिन्छ।
प्रतिवेदन अनुसार सन् २०२४ जनवरीदेखि डिसेम्बरसम्म उपचारमा पुगेका रजनोवृत्ति भएका महिलामध्ये ७१.९५ प्रतिशतमा ओस्टियोपोरोसिस देखिएको छ। डेक्सा स्क्यान मेसिनमार्फत परीक्षण गरिएका ८२ महिलामध्ये ५९ जनामा हड्डी कमजोर भएको पाइएको हो।
यसैगरी सिभिल अस्पतालको हाडजोर्नी विभागमा उपचारका लागि पुग्ने बिरामीमध्ये करिब ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष छन्। हाडजोर्नी सर्जन डा. परिमल आचार्यका अनुसार पुरुषहरू प्रायः चोटपटक वा नसा च्यापिएको समस्यासहित अस्पताल पुग्ने गर्छन् भने महिलाहरू हड्डीसम्बन्धी दीर्घ रोगका कारण उपचारमा आउने गरेका छन्।
उपचारमा आउने महिलामा जोर्नी दुख्ने, घुँडा खिइने, ढाड तथा गर्धन दुख्ने, हड्डी चर्किने वा भाँचिने समस्या सामान्य रूपमा देखिने चिकित्सक बताउँछन्। यीमध्ये महिलामा सबैभन्दा बढी देखिने समस्या भनेको हड्डी कमजोर हुने अर्थात् ओस्टियोपोरोसिस हो, जुन नेपाली महिलामा विकराल रूपमा देखिन थालेको चिकित्सकको भनाइ छ।
ओस्टियोपोरोसिस भएका महिलामा सामान्य चोटपटक वा चोटपटकबिनै पनि हड्डी चर्किने र दुख्ने समस्या देखिन्छ। कतिपय अवस्थामा लड्नेबित्तिकै हड्डी भाँचिने र त्यसकै कारण ज्यान जाने घटनासमेत हुने गरेको चिकित्सकहरू बताउँछन्।
डा. आचार्यका अनुसार जोर्नीका हड्डी खिइने, कुरकुरे हड्डी क्षय हुने समस्या पुरुषको तुलनामा महिलामा बढी देखिन्छ। ‘यस अस्पतालमा घुँडा खिइएर गरिने शल्यक्रियामध्ये करिब ९० प्रतिशत महिला र १० प्रतिशत मात्र पुरुष हुन्छन्,’ उनले बताए।
महिलामा नाडीमा नसा च्यापिने समस्या पनि बढी देखिने गरेको छ। विशेषगरी थाइराइड भएका महिलामा यो समस्या बढी देखिन्छ र ४५ वर्ष उमेरदेखि नै सुरु हुन सक्छ।
रजनोवृत्ति र स्ट्रोजन हर्मोनको कमी मुख्य कारण
चिकित्सकका अनुसार महिलामा रजनोवृत्ति सुरु भएसँगै शरीरमा स्ट्रोजन हर्मोन घट्दै जान्छ। यही हर्मोनले हड्डीलाई बलियो बनाइराख्ने भएकाले यसको कमी भएपछि हड्डीबाट क्याल्सियम निस्कँदै जान्छ र हड्डी खोक्रो हुँदै जान्छ। यस अवस्थालाई ओस्टियोपोरोसिस भनिन्छ।
यसका कारण ६० वर्ष नाघेका महिलामा ढाड, नाडी र मेरुदण्डका हड्डी टुक्रिने समस्या बढ्छ। यही कारण धेरै महिला कम उमेरमै कुप्रो पर्ने गरेको चिकित्सक बताउँछन्।
पोषणको कमी पनि जिम्मेवार
महिलामा हाडजोर्नी समस्या बढ्नुको अर्को प्रमुख कारण पोषणको कमी हो। नेपाली समाजमा कार्बोहाइड्रेटयुक्त खाना बढी खाने तर क्याल्सियम र प्रोटिनको मात्रा कम हुने भएकाले महिलामा हाडजोर्नी समस्या छिटो देखिने गरेको चिकित्सकको भनाइ छ।
‘पोषणको कमीका कारण महिलामा ५० वर्षपछि नै हाडजोर्नी समस्या देखिन थाल्छ भने पुरुषमा प्रायः ७० वर्षपछि मात्र देखिन्छ,’ डा. आचार्य भन्छन्।
शारीरिक बनोट र वंशाणुगत कारण
महिलाको शारीरिक बनोटका कारण पनि हाडजोर्नीमा बढी भार पर्ने चिकित्सक बताउँछन्। महिलाको पेल्भिसको कोण ८० डिग्रीभन्दा बढी हुने हुँदा पेल्भिस वरपरका मांसपेशी र हड्डीमा बढी भार पर्छ, जसले घुँडा र हिप खिइने जोखिम बढाउँछ।
यसका साथै वंशाणुगत कारण पनि महत्वपूर्ण छन्। आमा वा हजुरआमामा हाडजोर्नी समस्या भएमा पछिल्लो पुस्तामा पनि देखिने सम्भावना बढी हुन्छ। लिगामेन्ट कमजोर हुने भएकाले पनि महिलाको जोर्नी छिटो खिइने चिकित्सक बताउँछन्।
मोटोपना, जीवनशैली र दीर्घ रोग
डा. आचार्यका अनुसार महिलाको जीवनशैली पनि हाडजोर्नी समस्याको कारण हो। घरेलु कामले शरीर चलायमान देखिए पनि यसले हड्डीलाई आवश्यक बल नदिई तौल बढाउने मात्र काम गर्छ। आवश्यक व्यायामको अभाव, असन्तुलित आहार र आरामदायी जीवनशैलीले हाडजोर्नी कमजोर बनाउँछ।
दीर्घ रोगका लागि लामो समय स्टेरोइडजस्ता औषधि सेवन गर्दा पनि हड्डी कमजोर हुने चिकित्सक बताउँछन्। दमजस्ता रोगमा प्रयोग हुने औषधिले श्वासप्रश्वास सहज बनाए पनि दीर्घकालमा हड्डीमा नकारात्मक असर पार्छ।
कसरी बच्ने ?
चिकित्सकका अनुसार रजनोवृत्तिपछि स्ट्रोजन हर्मोन पूर्ण रूपमा बन्द हुँदैन। नियमित तर हल्का व्यायाम जस्तै हिँडडुल र एरोबिक व्यायाम महिलाका लागि उपयुक्त हुन्छ।
पोषणयुक्त सन्तुलित खाना, प्रोटिन र क्याल्सियमयुक्त खाद्य पदार्थ, सूक्ष्मपोषक तत्त्वको नियमित सेवनले हड्डी बलियो राख्न मद्दत गर्छ।
तौल नियन्त्रण, नियमित व्यायाम र स्वस्थ जीवनशैली अपनाएमा हाडजोर्नीमा पर्ने भार कम हुन्छ। चिकित्सकका अनुसार ३५ वर्षअघि नै कडा व्यायाम र स्वस्थ जीवनशैली अपनाएमा हड्डी दीर्घकालसम्म बलियो राख्न सकिन्छ।
सकेसम्म कम उमेरमै पाठेघर र डिम्बाशय ननिकाल्न चिकित्सकको सुझाव छ। पाठेघर छिट्टै निकालेमा हड्डी कमजोर हुने भएकाले कम्तीमा ५५ वर्षसम्म जोगाएर राख्नु उपयुक्त हुने उनीहरू बताउँछन्।
हड्डी बलियो बनाउन भिटामिन बी, क्याल्सियम र प्रोटिनयुक्त भोजन, खेलकुद र सन्तुलित व्यायाम आवश्यक हुन्छ। रजनोवृत्तिपछि पेटको बोसोबाट केही मात्रामा स्ट्रोजन हर्मोन उत्पादन भइरहने भएकाले अत्यधिक दुब्लो हुनुको सट्टा सामान्य मोटोपना कायम राख्नु पनि हड्डीका लागि फाइदाजनक हुने चिकित्सकको सुझाव छ।







