उदयपुर – ‘आँखाका भगवान्’को उपमा पाइसकेका विश्वप्रसिद्ध नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत पछिल्लो तीन दिनयता उदयपुरमा रहेर मोतियाबिन्दुका रोगीहरूको आँखाको ज्योति फर्काउन व्यस्त छन्। आइतबार साँझ उदयपुर आइपुगेका डा. रुइत हाल चौदण्डीगढी नगरपालिका–७ स्थित साबिक कोभिड अस्पतालमा निरन्तर आँखाको शल्यक्रिया (अप्रेसन) गरिरहेका छन्।
सोमबार बिहानदेखि सुरु भएको अप्रेसनमा डा. रुइतसहित तीन जना विशेषज्ञ चिकित्सक खटिएका छन्। चौदण्डीगढी, त्रियुगा र बेलका नगरपालिकाका विभिन्न वडामा सञ्चालन गरिएको साताव्यापी निःशुल्क आँखा शिविरमा पहिचान भएका मोतियाबिन्दुका रोगीहरूको अप्रेसन भइरहेको हो।
चौदण्डीगढी नगरपालिका–४ का वडाध्यक्ष तथा शिविर आयोजक समिति संयोजक लुँगराज राईका अनुसार सोमबार एकै दिन १ सय ५२ जनाको सफल आँखाको अप्रेसन सम्पन्न भइसकेको थियो। मंगलबार बिहानदेखि साँझ ७ बजेसम्म थप १ सय ६० जनाको अप्रेसन सम्पन्न भएको र राति ९ बजेसम्म अप्रेसन जारी रहने उनले बताए।
चौदण्डीगढी नगरपालिकाका १० वटै वडा, बेलका नगरपालिकाका ४ वडा र त्रियुगा नगरपालिकाका ४ वडामा टोली खटाएर आँखा शिविर सञ्चालन गरिएको थियो। ती शिविरमार्फत कुल ५ सय ६६ जना मोतियाबिन्दुका रोगी पहिचान भएका छन् र सबैको अप्रेसन गर्ने लक्ष्य रहेको आयोजक समितिले जनाएको छ।
‘आइतबार साँझ आइपुग्नुभएका डा. रुइत र अन्य दुई जना विशेषज्ञ चिकित्सक सोमबार बिहानदेखि निरन्तर अप्रेसनमा खटिरहनुभएको छ,’ संयोजक राईले भने, ‘३० गतेभित्र अप्रेसन सम्पन्न गर्नुपर्ने भएकाले बिहानदेखि राति अबेरसम्म उहाँहरू व्यस्त हुनुहुन्छ।’
चौदण्डीगढी नगरपालिकाका नगरप्रमुख कालुमान लामाका अनुसार नगरपालिकाले विगत केही वर्षदेखि नियमित रूपमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ। यस वर्ष भने छिमेकी नगरपालिकालाई समेत समेटेर डा. सन्दुक रुइतकै उपस्थितिमा बृहत् शिविर आयोजना गरिएको हो।
‘विश्वमै आँखाका भगवान् भनेर चिनिनु भएका डा. रुइतलाई प्रत्यक्ष उपस्थित गराएर नगरवासीको आँखाको ज्योति फर्काउने अवसर मिल्नु हाम्रो लागि गर्वको विषय हो,’ नगरप्रमुख लामाले भने, ‘त्यसैले उहाँकै हातबाट अप्रेसन गराउने उद्देश्यले यो बृहत् शिविर आयोजना गरेका हौँ।’
नगरप्रमुख लामाका अनुसार पछिल्ला तीन वर्षमा चौदण्डीगढी नगरपालिकामा मात्रै ७ हजारभन्दा बढीले घरपायक आँखा परीक्षण सेवा पाइसकेका छन्। तीमध्ये १ हजारभन्दा बढीको मोतियाबिन्दुको सफल अप्रेसन भई गुमेको दृष्टि फिर्ता भइसकेको छ।
डा. रुइतको उपस्थितिका कारण टाढा–टाढाबाट समेत बिरामी आएको र यस वर्ष शिविरमा अपेक्षाभन्दा बढी चाप बढेको नगरप्रमुख लामाले बताए। ‘यसअघि पनि शिविर हुँदै आएको हो, तर यस पटक डा. रुइत स्वयं आउने भएपछि बिरामीको संख्या ह्वात्तै बढ्यो,’ उनले भने।
२८ देखि ३० गतेसम्म तीन दिनका लागि अप्रेसन शिविर सञ्चालन गर्ने योजना रहे पनि बिरामीको संख्या धेरै भएकाले समय थपिन सक्ने आयोजकले जनाएको छ। डा. रुइतलाई तीन दिनका लागि निम्तो दिइए पनि दुई दिनमै आधाभन्दा बढी अप्रेसन बाँकी रहेकाले सबै बिरामीको अप्रेसन समयमै सक्न चुनौती देखिएको संयोजक राईले बताए।







