ललितपुर- नेपाल एनसिडी एलायन्सको आयोजनामा नसर्ने रोग (एनसिडी) तथा मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ‘साउथ इस्ट एसिया रिजनल कन्फरेन्स अन एनसिडी एन्ड मेन्टल हेल्थ : स्ट्रेन्थेनिङ एकाउन्टविलिटी, पोस्ट युएन एचएलएम–२०२५’ सम्पन्न भएको छ ।
साउथ इस्ट एसिया रिजनल (सेरो) एनसिडी एलायन्स र नेपाल एनसिडी एलायन्सको संयुक्त आयोजनामा सम्पन्न सम्मेलनको मुख्य उद्देश्य सन् २०२५ मा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय उच्चस्तरीय बैठकपछि नसर्ने रोग तथा मानसिक स्वास्थ्य क्षेत्रमा गरिएको प्रतिबद्धताको कार्यान्वयन अवस्थालाई यस क्षेत्रका देशहरूमा सुदृढ गर्नु रहेको थियो ।
सम्मेलनमा नेपाल एनसिडी एलायन्स, बङ्गलादेश एनसिडी फोरम, हेल्दी इन्डिया एलायन्स, बङ्गलादेश नन कम्युनिकेवल डिजिजेज फोरम, एनसिडी एलायन्स श्रीलङ्का, मालदिभ्स एनसिडी एलायन्स, इन्डोनेसिया एनसिडी एलायन्स, एनसिडी मलेसिया तथा एनसिडी एलायन्स एसोसिएसन अफ थाइल्यान्डका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सुधा शर्मा गौतमले प्राथमिक स्वास्थ्य सेवामा नसर्ने रोग र मानसिक स्वास्थ्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताइन् । उनले नेपालमा हुने कुल मृत्युमध्ये ७० प्रतिशतभन्दा बढी नसर्ने रोगका कारण भइरहेको उल्लेख गर्दै यसले अर्थतन्त्र र मानव संसाधनमा गम्भीर असर पारेको बताइन् । मन्त्री शर्माले उपचारभन्दा रोकथामलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन् ।
मन्त्री शर्माले मानसिक स्वास्थ्यलाई ‘ओझेलमा परेको महामारी’ को संज्ञा दिँदै सरकारले सुरु गरेको ‘राष्ट्रिय मानसिक स्वास्थ्य अभियान २०२५’ लाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरिन् । साथै, युवा तथा किशोरकिशोरी लक्षित क्लिनिकहरूको सफलतालाई उल्लेख गर्दै आगामी दिनमा यस्ता सेवाहरू स्थानीय तहसम्म विस्तार गरिने बताइन्।
उनले सरकारले तयार पारेको पञ्चवर्षीय रणनीतिक दस्तावेज तथा मल्टि सेक्टरल एक्सन प्लान २०२६–३० ले आगामी पाँच वर्षका लागि नसर्ने रोग तथा मानसिक स्वास्थ्य क्षेत्रमा हुने प्रगति मापन गर्ने स्पष्ट गरिन् ।







