
काठमाडौं – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने निर्णय गरेको छ। अस्पताल प्रशासनले सार्वजनिक सूचना जारी गर्दै बिमा बोर्डसँग उपचार शुल्क दररेटलगायतका विषयमा सहमति हुन नसकेपछि कार्यक्रम रोक्न बाध्य भएको जनाएको छ।
अस्पतालले जारी गरेको सूचनामा स्वास्थ्य बिमा बोर्ड र अस्पतालबीच उपचार दररेटमा स्पष्ट अन्तर रहेको, पटक–पटक लिखित तथा मौखिक रूपमा जानकारी र प्रस्ताव पेश गर्दा समेत सुनुवाइ नभएको उल्लेख गरिएको छ। दुई वर्षदेखि आफ्नै आन्तरिक स्रोत प्रयोग गरी दैनिक खर्च धान्दै आएको अस्पतालले अब थप आर्थिक घाटा व्यहोर्न नसक्ने अवस्था आएको सूचनामा जनाइएको छ।
टिचिङ अस्पतालका निर्देशक डा. सुवास आचार्यका अनुसार स्वास्थ्य बिमा बोर्डले कार्यक्रमलाई एकपक्षीय ढंगले सञ्चालन गर्दै अस्पतालका माग र दाबीहरू अस्वीकार गरेपछि बिमा खर्च अस्पतालका लागि अत्यन्तै बोझिलो बनेको हो। ‘स्वास्थ्य बिमा बोर्डले हाम्रो माग र दाबीलाई निरन्तर अस्वीकार गरेपछि अन्ततः बिमा कार्यक्रम नै बन्द गर्नुपर्ने अवस्थामा पुग्यौं,’ उनले भने।
उनका अनुसार अस्पतालले बिमा अन्तर्गत गरेको उपचार खर्च बोर्डले विभिन्न बहानामा अस्वीकार गर्दा हरेक महिना डेढदेखि दुई करोड रुपैयाँसम्मको खर्च स्वीकृत नहुने गरेको छ। अस्पतालले मासिक करिब पाँच करोड रुपैयाँ बराबरको बिमा खर्च दाबी गर्दै आएकोमा बोर्डले करिब ४० प्रतिशत रकम अस्वीकार गर्दै आएको उनले बताए। यसरी दुई वर्षको अवधिमा ४० देखि ४५ करोड रुपैयाँ बराबरको भुक्तानी हुन नसकेको अस्पतालको दाबी छ।
निर्देशक आचार्यले बिमा बोर्डले विभिन्न सर्त र प्राविधिक आधार देखाउँदै दाबी अस्वीकार गर्दा अस्पताल गम्भीर आर्थिक संकटमा परेको बताए। बोर्डले प्रादेशिक अस्पतालको शुल्क सरह दररेटको आधारमा भुक्तानी मूल्यांकन गर्ने गरेको र एकै बिरामीले एउटाभन्दा बढी विभागबाट उपचार गराउँदा दोस्रो वा तेस्रो उपचारको शुल्क अस्वीकार गर्ने गरेको गुनासो गरे।
टिचिङ अस्पताल देशभरका गम्भीर तथा रेफरल बिरामी उपचारका लागि आउने प्रमुख अस्पताल भएकाले यहाँ स्वास्थ्य बिमा कार्यक्रम बन्द हुँदा बिमा सेवाग्राहीहरू प्रत्यक्ष रूपमा मर्कामा पर्ने देखिन्छ।




