विराटनगर – मोरङ प्रहरीले आइतबार राति पनि गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन गोली चलाएको छ।
आइतबार करिब साढे ११ बजे मोरङको केराबारी गाउँपालिका–५, लाफा टोलमा प्रहरीले हवाई फायर गरी एम्बुलेन्समा लोड गरिएको ४८० किलो हाराहारी गाँजा बरामद गरेको हो। घटनामा धनकुटाको सहिदभूमि–६ का ३५ वर्षीय निश्चल राई र साँगुरीगढी–२ का २० वर्षीय खगेन्द्र लिम्बू पक्राउ परेका छन्।
मोरङ प्रहरी प्रमुख, प्रहरी उपरीक्षक कवित कटवालका अनुसार, एम्बुलेन्सलाई रोक्न खोज्दा चालकहरूले भाग्ने प्रयास गरेपछि प्रहरीले चाइनिज पेस्तोलबाट १ राउण्ड हवाई फायर गरेको थियो।
त्यसअघि शनिबार राति जहदा गाउँपालिका–२, तारिगामाबाट ३३० किलो गाँजासहित भारतीय नागरिक २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खान पक्राउ परेका थिए। मोरङ प्रहरीले जिल्ला भित्र गाँजा ओसारपसार रोक्नका लागि निरन्तर कारबाही जारी राख्ने जनाएको छ।







