काठमाडौं- नेपाल चिकित्सक संघ (एनएमए) को आगामी निर्वाचनका लागि अध्यक्षका उम्मेदवार डा. मंगल रावलले आफ्नो नेतृत्वमा चुनावी प्यानल सार्वजनिक गरेका छन्। काठमाडौंमा आयोजित पत्रकार सम्मेलन तथा विशेष कार्यक्रममा डा. रावलले चार मुख्य प्रतिबद्धता, चार एजेन्डा र विस्तृत संकल्प पत्रसहित आफ्नो टिम घोषणा गरेका हुन्।
डा. रावल नेतृत्वको टिमले पेशागत एनएमए, सहभागीतामूलक एनएमए, सेवामूलक एनएमए र पारदर्शी एनएमए गरी चार मुख्य प्रतिबद्धता अघि सारेको छ। य
पत्रकार सम्मेलनमा सार्वजनिक संकल्प पत्रमा कार्यकालभर कुनै पनि राजनीतिक नियुक्तिमा सहभागी नहुने, तालिम वा अध्ययनका लागि संघको जिम्मेवारी नछाड्ने, चिकित्सकीय पेशा र चिकित्सकको हितमा कुनै हानी नपुर्याउने स्पष्ट प्रतिवद्धता गरिएको छ। साथै एनएमएका गतिविधिमा राजनीतिक हस्तक्षेप नरहने, टिमका सदस्य कुनै पनि राजनीतिक दलमा आवद्ध नहुने, महत्वपूर्ण निर्णयमा ब्यालेटिङ प्रणाली लागू गर्ने तथा प्रत्येक महिना प्रगति विवरण र तीन महिनामा वित्तीय विवरण सार्वजनिक गर्ने निर्णय पनि संकल्प पत्रमा उल्लेख गरिएको छ।
डा. रावल नेतृत्वको टिमले चिकित्सकको हितलाई केन्द्रमा राख्दै डा. टंक बराकोटी प्रतिवेदनले सुझाएका विषय समेटेर चिकित्सक सेवा ऐन जारी गर्ने प्रतिबद्धता जनाएको छ। साथै ग्रामीण तथा दुर्गम क्षेत्रमा सेवा गर्ने चिकित्सकलाई १५ लाख रुपैयाँसम्मको आम्दानीमा पारिश्रमिक कर छुट दिने एजेन्डा समेत अघि सारिएको छ। अनिवार्य नीतिगत सुधार, एनएमए अन्तर्गत प्रभावकारी रिसर्च एण्ड एडभोकेसी युनिट सञ्चालन गर्ने संकल्प पनि टिमको एजेन्डामा समेटिएको छ।
डा. रावलको प्यानलमा अध्यक्षमा स्वयं डा. मंगल रावल उम्मेदवार छन्। वरिष्ठ उपाध्यक्षमा युवा प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदी र महासचिवमा डा. कालुसिंह खत्री उम्मेदवार रहेका छन्।
प्रदेश संयोजकसहितका उपाध्यक्ष उम्मेदवारहरूमा कोशी प्रदेशबाट स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. टंक प्रसाद बराकोटी, मधेश प्रदेशबाट डा. उदयनारायण सिंह, बागमती प्रदेशबाट डा. अरुण शाही, गण्डकी प्रदेशबाट डा. यज्ञराज सिग्देल, लुम्बिनी प्रदेशबाट डा. सन्तोष पोखरेल, कर्णाली प्रदेशबाट डा. रविन खड्का र सुदूरपश्चिम प्रदेशबाट डा. निरज आर्याल उम्मेदवार छन्।
अन्य पदाधिकारीहरूमा सह–महासचिवमा डा. राम जीवन प्रसाद, कोषाध्यक्षमा डा. चाँदनी जैसवाल र सह–कोषाध्यक्षमा डा. सुवास गुरुङ उम्मेदवार रहेका छन्।
यसैगरी सदस्य पदका उम्मेदवारमा डा. अमित झा, डा. अरुण उप्रेती, डा. दीक्षा बोहोरा, डा. निराजन तामाङ, डा. पल्पसा श्रेष्ठ र डा. जीवना अन्सारी रहेका छन्।
पूर्व कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति समेत रहेका डा. मंगल रावलले नेतृत्व गरेको यो प्यानलले एनएमएलाई पेशागत, पारदर्शी र चिकित्सकमैत्री संस्थाको रूपमा रूपान्तरण गर्ने दाबी गरेको छ।







