काठमाडौं – नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्य चयनका लागि काठमाडौं उपत्यकामा भएको मतदान सम्पन्न भएको छ। शुक्रबार र शनिबार गरी दुई दिन मतदान प्रक्रिया सञ्चालन गरिएको थियो।
काउन्सिलका रजिस्ट्रार डा. सतिश देवका अनुसार काठमाडौं उपत्यका तथा उपत्यका बाहिरबाट गरी कुल ११ हजार ९ सय २२ मत खसेको छ।
निर्वाचनमा एक उपाध्यक्ष पदका लागि ३ जना र आठ सदस्य पदका लागि ३३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
यसअघि काठमाडौं उपत्यका बाहिरका मतदान केन्द्रहरूमा निर्वाचन सम्पन्न भइसकेको थियो। काउन्सिलको निर्वाचनका लागि देशभर २१ वटा मतदान केन्द्र तोकिएको थियो। काठमाडौं उपत्यकाभित्रको मतदान पुस ११ र १२ गते सञ्चालन गरिएको हो।
काउन्सिलले मतगणना भने भोलि विहान देखि ललितपुरको स्टाफ कलेज परिसरमा हुने बताएको छ।
Last Modified Date: २०८२ पुष १२, शनिबार







