काठमाडौं- बुढ्यौली आफैंमा रोग नभए पनि उमेरसँगै शरीर र मनमा आउने परिवर्तनबारे जानकारी नहुँदा जेष्ठ नागरिक गम्भीर स्वास्थ्य समस्यामा पर्न सक्ने ह्याम्स अस्पतालकी जेरियाट्रिसियन डा. उर्जा भट्टराई बताउँछिन्।
उनका अनुसार जेष्ठ नागरिकको व्यक्तिगत व्यवस्थापन भन्नाले आफूमा देखिने शारीरिक तथा मानसिक परिवर्तन बुझ्नु, रोग र त्यसका लक्षण पहिचान गर्न सक्नु, औषधि, खानपिन, व्यायाम तथा जीवनशैलीलाई सचेत रूपमा व्यवस्थित गर्नु हो।
औषधि व्यवस्थापन नहुँदा बढ्छ जोखिम
डा. भट्टराईका अनुसार धेरैजसो जेष्ठ नागरिकलाई कुन औषधि किन सेवन गरिँदैछ, कहिले खाने, कति समयसम्म खाने र यसको फाइदा–बेफाइदा के हुन् भन्नेबारे पर्याप्त जानकारी हुँदैन। “औषधि सम्बन्धी जानकारी नहुँदा साइड इफेक्ट देखिन सक्छ, औषधि छुट्ने वा दोहोरिने समस्या पनि आउँछ,” उनी भन्छिन्।
औषधिको सही प्रयोग र जानकारीले जेष्ठ नागरिकलाई आत्मनिर्भर बनाउने उनको भनाइ छ।
रोगका लक्षणलाई ‘बुढ्यौली’ ठानेर वेवास्ता गर्ने प्रवृत्ति
घरमै रोग पहिचान गर्दा जेष्ठ नागरिक र परिवारले गर्ने साझा गल्ती भनेको लक्षणलाई सामान्य बुढ्यौली ठानेर वेवास्ता गर्नु हो। डा. भट्टराई भन्छिन्, “चक्कर लाग्नु, थकान महसुस हुनु, स्मरणशक्ति कमजोर हुनु वा हिँड्न गाह्रो हुनुजस्ता लक्षण रोगका संकेत हुन सक्छन्, यी सबै बुढ्यौलीका कारण मात्र होइनन्।”
सानो समस्या देखिँदा ढिलाइ नगरी अस्पताल गएर जाँच गराउनुपर्नेमा उनी जोड दिन्छिन्।
खानपिन, व्यायाम र मानसिक स्वास्थ्य पनि उत्तिकै आवश्यक
जेष्ठ नागरिकको व्यक्तिगत व्यवस्थापनमा सन्तुलित खानपान, नियमित हल्का व्यायाम र मानसिक स्वास्थ्यको ख्याल अनिवार्य हुने डा. भट्टराई बताउँछिन्। उनका अनुसार खानपिनमा नुन, चिनी र बोसो नियन्त्रण गर्नु, दैनिक हिँडडुल गर्नु तथा तनाव र एक्लोपन कम गर्ने वातावरण बनाउनु आवश्यक छ।
परिवारको सहयोग बिना व्यक्तिगत व्यवस्थापन अपूरो
डा. भट्टराईका अनुसार जेष्ठ नागरिकको व्यक्तिगत व्यवस्थापन सफल बनाउन परिवारको भूमिका महत्वपूर्ण हुन्छ। “हिँड्न जाँदा सँगै जानु, अस्पताल लैजान सहयोग गर्नु, औषधि सम्झाइदिनु र मानसिक रूपमा साथ दिनु परिवारको दायित्व हो,” उनी भन्छिन्।
“बुढ्यौली रोग होइन,” डा. भट्टराई भन्छिन्, “त्यसैले जेष्ठ नागरिकलाई आफ्नो स्वास्थ्यको व्यक्तिगत व्यवस्थापन आफैं गर्न सक्ने बनाउनु पर्छ।” सानो रोग वा समस्या देखिँदा वेवास्ता नगरी समयमै उपचार गराउँदा जटिलता रोक्न सकिने उनको सुझाव छ।







