सुर्खेत- कर्णाली प्रदेश अस्पताल सुर्खेतमा सार्वजनिक सम्पत्ति हिनामिनामा संलग्न तीन जनालाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ। अदालतले अस्पतालका दुई कर्मचारी र एक बैंक कर्मचारीसहित तीन जनाले २५ लाख ६७ हजार ५ सय २६ रुपैयाँ हिनामिना गरेको ठहर गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्पतालका तत्कालीन लेखा अधिकृत शंकरप्रसाद सुवेदी, कम्प्युटर अपरेटर तृप्ति शाही र कुमारी बैंकको एक्सटेन्सन काउन्टर इन्चार्ज गोमा सिंजाली मगर विरुद्ध सार्वजनिक सम्पत्तिमा हानि पुर्याएको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो।
अदालतको निर्णयअनुसार, १ साउन २०८० देखि ३२ साउन २०८१ सम्म संकलन भएको ३४ लाख ३ हजार ८ सय ५६ रुपैयाँमध्ये ८ लाख ३६ हजार ३ सय ३० रुपैयाँ मात्रै बैंकमा दाखिला भएको र बाँकी २५ लाख ६७ हजार ५ सय २६ रुपैयाँ हिनामिना भएको फेला परेको थियो।
विशेष अदालतले तीनै प्रतिवादीले आफ्नो जिम्मेवारी पूरा नगरी लापर्वाही र मिलेमतोमा रकम हिनामिना गरेको ठहर गरेको छ। अदालतले तिनीहरू विरुद्ध १८ पुस २०८२ मा सजाय निर्धारणका लागि पेसी तोकेको छ।







