काठमाडौँ- त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा अब बिरामी र सेवाग्राहीले लामो लाइन बस्नुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन्। अस्पतालले हालै नगद भुक्तानी र विभिन्न परीक्षणको रिपोर्ट संकलन गर्न मिल्ने स्वचालित मेसिन (कियोस्क) सञ्चालनमा ल्याएको छ।
नयाँ मेसिनमार्फत अब भर्ना बिरामीको शुल्क तिर्न तथा परीक्षणपछि तयार भएका रिपोर्ट लिन सहज हुने अस्पतालले जनाएको छ। यसले काउन्टरमा भीड घटाउनुका साथै सेवाग्राहीको समय बचत हुने अपेक्षा गरिएको छ।
यसअघि नै शिक्षण अस्पतालले अनलाइन टिकट काट्ने र वेबसाइटमार्फत रिपोर्ट हेर्ने तथा संकलन गर्ने व्यवस्था लागू गरिसकेको थियो। नयाँ मेसिन थपिएसँगै अस्पतालको सेवा प्रणाली अझै प्रविधिमैत्री र प्रभावकारी बन्ने विश्वास गरिएको छ।
अस्पताल प्रशासनका अनुसार डिजिटल प्रणाली विस्तारले बिरामी, आफन्त तथा कर्मचारी सबैलाई सुविधा पुगेको छ भने सेवा प्रवाहलाई छिटो, पारदर्शी र व्यवस्थित बनाउने लक्ष्य लिइएको छ।







