काठमाडौं- नेपाल चिकित्सक संघ (एनएमए) को आगामी निर्वाचनका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। निर्वाचन तालिकाअनुसार काठमाडौँ उपत्यका बाहिर २०८२ साल माघ २ र ३ गते मतदान हुनेछ भने काठमाडौँ उपत्यका भित्र माघ १५, १६ र १७ गते मतदान गरिनेछ।
आगामी निर्वाचनका लागि संस्थापन पक्षले हालका वरिष्ठ उपाध्यक्ष डा. बद्री रिजालको नेतृत्वमा टिम बनाएर उम्मेदवारी दिने तयारी गरेको छ। डा. रिजाल नेतृत्वको टिममा हालका महासचिव डा. सन्जिब तिवारी वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार बन्ने भएका छन्। त्यस्तै महासचिव पदमा डा. विश्वराज दवाडी र कोषाध्यक्ष पदमा डा. संयुक्त आचार्यले उम्मेदवारी दिने तयारी गरेका छन्।
डा. दवाडीले यसअघि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका थिए। तर संस्थापन पक्षभित्र सहमति जुटेपछि डा. बद्री रिजाल र डा. सन्जिब तिवारीको टिममा समावेश हुँदै उनले महासचिव पदमै उम्मेदवारी दिने निर्णय गरेका हुन्।
यता संस्थापन इतर समूहबाट डा. मंगल रावलको नेतृत्वमा टिम बनाएर प्रतिस्पर्धा गर्ने तयारी भइरहेको छ। टिम मंगलबाट अध्यक्ष पदमा डा. मंगल रावल, उपाध्यक्ष पदमा डा. टंक प्रसाद बराकोटी र डा. अरुण शाहीको नाम तय गरिएको छ। महासचिव पदमा भने डा. कालु सिंह खत्रीले उम्मेदवारी दिने तयारी रहेको जानकारी डा. रावलले दिएका छन्।
यसैबीच, एनएमए निर्वाचनमा तेस्रो धारबाट पनि प्रतिस्पर्धा हुने चर्चा चुलिँदै गएको छ। हालसम्म तेस्रो धारबाट महासचिव पदमा डा. अमृत भुषालले उम्मेदवारी घोषणा गरिसकेका छन्। अन्य पदका उम्मेदवारहरू भने अझै सार्वजनिक भइसकेका छैनन्।







