

काठमाडौँ– ललितपुरकाे हरिशिद्धिमा रहेकाे नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टरले आफ्नो नयाँ वेबसाइट र एन्ड्रोइड एपमार्फत डाक्टरको अपोइन्टमेन्ट सजिलै लिन सकिने सुविधा सुरु गरेको छ।
अस्पतालका अध्यक्ष डा. सुदीप श्रेष्ठले प्रविधिको प्रयोगले बिरामी र डाक्टरबीचको दूरी घटाउने र बिरामीले आफूले चाहेको विशेषज्ञ रोजेर सहज रूपमा अपोइन्टमेन्ट लिन सक्ने वातावरण सिर्जना भएको बताए।
मेडिकल डाइरेक्टर डा. विवेश राज घिमिरेले नयाँ प्रणालीले अस्पतालको डिजिटल सेवामा नयाँ आयाम थपेको बताए। अस्पतालका सीईओ कपिल गौतमले एप हाल एन्ड्रोइडमा मात्र उपलब्ध रहेको र निकट भविष्यमा आइफोनमा पनि सेवा विस्तार गरिने जानकारी दिए।

साथै, अस्पतालले क्यान्सर बिरामीलाई गुणस्तरीय औषधि घरमै उपलब्ध गराउने ‘मेडिसिन होम डेलिभरी’ सेवा सुरु गरेको छ। यसमार्फत अस्पतालकै फार्मेसीबाट नेपालभर औषधि वितरण हुनेछ।
बाआमा कन्सल्टका सीईओ दिवाकर रिजालले डायनामिक प्रणालीले बिरामी, डाक्टर र व्यवस्थापन सबैका लागि उपयोगी अनुभव प्रदान गर्ने उल्लेख गर्दै आवश्यक परेक्रममा थप फिचरहरू अभिवृद्धि गरिने बताए।
कार्यक्रमकै अवसरमा अक्टोबर ‘क्यान्सर सचेतना महिना’ सन्दर्भमा अस्पतालभित्र आन्तरिक रूपमा सञ्चालन भएका सचेतनामूलक क्रियाकलापमा उत्कृष्ट योगदान दिने विभागहरूलाई सम्मान गरिएको थियो। पहिलो पुरस्कार सर्जिकल एनेक्स विभागलाई प्रदान गरिएको छ।



