डडेल्धुरा- डडेल्धुराको भागेश्वर गाउँपालिका–४, बगरकोटमा करिब ७ करोड रुपैयाँ लागतमा अत्याधुनिक स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएको छ । नयाँ भवन सञ्चालनमा आएपछि स्थानीयवासीले नजिकैबाट नै गुणस्तरीय स्वास्थ्य सेवा पाउने अपेक्षा व्यक्त गरेका छन् ।
बगरकोटस्थित पुरानो स्वास्थ्य चौकी भवन जीर्ण भई चुहिने अवस्थामा पुगेकाले लामो समयदेखि सेवा सञ्चालनमा कठिनाइ भैरहेको थियो । त्यही समस्यालाई ध्यानमा राख्दै गाउँपालिकाले जर्मन विकास बैंकको वैदेशिक ऋण–अनुदानमा नयाँ भवन निर्माणको पहल गरेको हो ।

भवन निर्माणको जिम्मा धनगढीस्थित उच्चाकोटी निर्माण सेवा प्रालिले पाएको थियो । भ्याटसहित कुल लागत ७ करोड १७ लाख रुपैयाँ रहेको यस परियोजनाको सम्झौता २०७९ फागुन ७ गते गरिएको थियो । निर्माण २०८२ साउन ४ गतेभित्र सम्पन्न गर्ने म्याद तोकिए पनि केही प्राविधिक कठिनाइका कारण काम केही ढिला भएको ठेकेदार कम्पनीले जनाएको छ । कम्पनीले अबको दुई साताभित्र भवन हस्तान्तरण गर्ने तयारी गरेको छ, जसपछि गाउँपालिकाले औपचारिक रूपमा भवन सञ्चालनमा ल्याउने छ ।

भागेश्वर गाउँपालिकाका अध्यक्ष हेमराज चटौतका अनुसार नयाँ भवन सञ्चालनमा आएपछि बगरकोट तथा आसपासका बासिन्दाले उपचारका लागि टाढा जानुपर्ने अवस्था अन्त्य हुनेछ । “यहाँ सम्भव भएसम्म एमबीबीएस चिकित्सक र दक्ष स्वास्थ्यकर्मी परिचालन गरी सेवा विस्तार गर्ने योजना छ,” अध्यक्ष चटौतले भने, “यसले भागेश्वर मात्र होइन, छिमेकी पालिकाका बासिन्दाले पनि लाभ पाउनेछन्।”
तर उनले संघीय सरकारले खर्च कटौती नीति अपनाएकाले स्थानीय तहमा स्वास्थ्यकर्मी घटाउने अवस्था सिर्जना भएको भन्दै चिन्ता व्यक्त गरे । “शिक्षा र स्वास्थ्यजस्ता संवेदनशील क्षेत्रमा कर्मचारी अभाव गम्भीर समस्या बन्न सक्छ,” उनले भने । गाउँपालिकाले स्वास्थ्य सेवा सुदृढीकरणका लागि रूपालमा १० शय्याको अस्पताल निर्माण कार्य पनि अघि बढाएको उनले जानकारी दिए ।







