
-घनश्याम खरेल, वरिष्ठ न्युरोलोजिष्ट
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर वर्षेनी झण्डै १ करोड २२ लाख नयाँ पक्षघात अर्थात् प्यारालाइसिस (स्ट्रोक) का बिरामी फेला पर्छन् । झन् डरलाग्दो कुरा के छ भने, प्रत्येक ४ जनामध्ये एकजनालाई आफ्नो जीवनकालमा एकपटक पक्षघात हुने सम्भावना हुन्छ । त्यस्तै, प्रत्येक ३ सेकेन्डमा एकजनालाई स्ट्रोक हुने तथ्यले यो समस्या कति भयावह बनिसकेको छ भन्ने प्रष्ट पार्छ ।

नेपालको सन्दर्भमा पनि यो अवस्था चिन्ताजनक छ । पक्षघात भएका ९० प्रतिशत बिरामीहरू गरिब मुलुकमा छन्, जसमा नेपाल पनि पर्दछ । स्वास्थ्य संरचना, जनचेतना र समयमै उपचारको अभावले यहाँ पक्षघातबाट मृत्यु हुने दर बढ्दै गएको छ ।
पक्षघात कसरी हुन्छ ?
पक्षघात वा प्यारालाइसिस भन्नाले दिमागमा रगत, अक्सिजन वा ग्लुकोजको आपूर्ति अवरुद्ध हुँदा दिमागका कोषहरू मर्ने अवस्थालाई जनाइन्छ । दिमागको कुनै भागमा रगत नपुग्दा वा रगतको नली फुट्दा यस्तो समस्या हुन्छ । यसलाई दुई मुख्य प्रकारमा वर्गीकरण गरिन्छ:
इस्केमिक स्ट्रोक – जब दिमागमा रगत पुर्याउने नली बन्द हुन्छ । यसले दिमागका कोषहरू मर्छन् ।
हेमोराजिक स्ट्रोक – जब रगतको नली फुट्छ र रगत दिमागभित्र बग्न थाल्छ ।
यसबाहेक सेरिब्रल भिनस साइनस थ्रोम्बोसिस र सबरएक्नोइड हेमरेज पनि देखिने स्ट्रोकका अन्य प्रकार हुन् । सेरिब्रल भिनस साइनस थ्रोम्बोसिसमा रगत फर्कने प्रणालीमा अवरोध आउँछ भने सबरएक्नोइडमा अचानक र अत्यधिक टाउको दुख्ने लक्षण हुन्छ ।
नेपालमा ७० प्रतिशत बिरामी इस्केमिक स्ट्रोकका हुन्छन्, २८ प्रतिशत हेमोराजिक र बाँकी २ प्रतिशत अन्य प्रकारका हुन्छन् ।
लक्षणहरू:
दिमागमा रगतको प्रवाह नहुँदा ती भागहरूमा दुखाइ, बोली लडबडिने, आँखाको दृष्टि धमिलो हुने, मुख बांगिने, शरीर अचल हुने लक्षण देखिन्छन् । तर, सबैमा हातखुट्टा लुलो हुने अनिवार्य छैन । कहिलेकाहीँ लक्षण हल्का वा भिन्न देखिन सक्छ ।
पक्षघातका मुख्य कारणहरू:
-चुरोट, खैनी र मद्यपानको सेवन
-उच्च रक्तचाप (ब्लड प्रेसर)
-मधुमेह (सुगर)
-उच्च कोलेस्ट्रोल
-मुटुको चाल वा भल्भमा समस्या
-रगत जम्ने वा नलीसम्बन्धी रोगहरू
यसका साथै बढ्दो उमेर, हर्मोनल असर, वंशाणुगत कारण र पुरुषमा बढी जोखिम पनि देखिन्छ ।
जाँच र उपचार
पक्षघातको शंका लाग्ने बित्तिकै बिरामीलाई तुरुन्त अस्पताल पुर्याउनु अत्यावश्यक हुन्छ । २४ घण्टाभित्र अस्पताल पुगेमा रगत जमेको नली खोल्ने औषधि (थ्रोम्बोलाइटिक एजेन्ट) प्रयोग गरेर उपचार सम्भव हुन्छ ।
स्ट्रोकको कारण र गम्भीरता पत्ता लगाउनका लागि सिटी स्क्यान, एसआरआइ, इिसजी र भिडियो एक्सरे गरिन्छ ।

नेपाल सरकारले केही सरकारी अस्पतालमा थ्रोम्बोलाइटिक औषधि निःशुल्क उपलब्ध गराएको छ, तर यो सेवा निजी अस्पतालहरूमा पनि उपलब्ध हुनुपर्ने आवश्यकता छ । किनकि सबै बिरामी सरकारी अस्पताल पुग्न सक्दैनन् ।
बी-फास्ट (BEFAST) सूत्र: पक्षघात पत्ता लगाउने सजिलो तरिका
पक्षघातका लक्षण तुरुन्त पत्ता लगाउनका लागि ‘BEFAST’ सूत्र प्रभावकारी मानिन्छ
B – Balance (सन्तुलन): शरीर ढल्किने, हिँड्दा सन्तुलन बिग्रने ।
E – Eyes (आँखा): अचानक दृष्टि धमिलो वा दृष्टि गुम्ने ।
F – Face (मुख): मुख एक्कासि बांगिने ।
A – Arm (हात/खुट्टा): हात वा खुट्टा लुलो हुने ।
S – Speech (बोली): बोली लडबडिने वा स्पष्ट नबोलिने ।
T – Time (समय): यी लक्षणहरू देखिए तुरुन्त अस्पताल पुग्ने ।
समयमै उपचार सुरु गर्न सकिएमा बिरामीको जीवन बचाउन सकिन्छ र अपांगता घटाउन सकिन्छ । पक्षघात केवल वृद्ध उमेरका समस्या होइन, अहिले मध्यम उमेरका र युवा उमेरका मानिसहरूमा पनि बढ्दै गएको छ । जीवनशैली, खानपान र स्वास्थ्यप्रति बेवास्ताले यो दर अझ बढाइरहेको छ । सरकारले उपचार सस्तो, सुलभ र सबै अस्पतालमा उपलब्ध गराउनुपर्ने आवश्यकता छ । त्यसैगरी, जनस्तरमा स्ट्रोकबारे चेतना, जोखिम घटाउने बानी र समयमै उपचारको संस्कृति विकास गर्न सके पक्षघातबाट हुने मृत्यु र अपांगता दुवै घटाउन सकिन्छ ।


