ताप्लेजुङ- ताप्लेजुङमा पहिलोपटक एपेन्डिसाइटिससहितका केही जटिल रोगको शल्यक्रिया सेवा सुरु भएको छ। विशेषज्ञ चिकित्सकको उपस्थितिसँगै आवश्यक उपकरणको व्यवस्था भएपछि जिल्ला अस्पताल ताप्लेजुङमा नियमित शल्यक्रिया सेवा सुरु गरिएको हो।
जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. प्रनाम जयरु आउनुले शल्यक्रिया सेवा सञ्चालनको बाटो खुलेको हो। जेनेरल तथा ल्याप्रोस्कोपिक सर्जनमा विशेषज्ञता हासिल गरेका डा. जयरु गत माघ महिनामा ताप्लेजुङ आएका थिए। त्यसयता माघको अन्तिमदेखि एपेन्डिक्स, हर्निया, हाइड्रोसिलजस्ता रोगको सफल शल्यक्रिया सेवा सुरु गरिएको हो।
अस्पतालका अनुसार हालसम्म १३६ जना बिरामीको सफल शल्यक्रिया गरिएको छ। तीमध्ये आठ जनाको एपेन्डिक्सको शल्यक्रिया गरिएको मेसु डा. जयरुले जानकारी दिए। उनका अनुसार पछिल्लो मङ्गलबार मात्र छ वर्षे बालकको हर्नियाको सफल शल्यक्रिया गरिएको हो।

शल्यक्रिया सेवा डा. जयरुको नेतृत्वमा एमडिजिपी डा. ताई अन्जुक लामा सहितको टोलीले प्रवाह गरिरहेको छ। हाल अस्पतालबाट एपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिस्टुला, बच्चाको हर्निया, सर्कम्सिजन तथा हातको सबैखाले शल्यक्रिया सेवा दिइँदै आएको छ।
करीब पाँच महिनाको अवधिमा गरिएका शल्यक्रियामध्ये सबैभन्दा बढी हात तथा बालबालिकासम्बन्धी हर्निया र हाइड्रोसिलको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ।
शल्यक्रिया सेवा जिल्लामै सुरु भएसँगै ताप्लेजुङवासीले राहत महसुस गरेका छन्। पहिले महँगो खर्चमा झापा, विराटनगर वा काठमाडौं जानुपर्ने बाध्यता अन्त्य भएपछि स्थानीयवासी उत्साहित छन्।








