कञ्चनपुर – महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले २३ जना विशेषज्ञ चिकित्सकसहितको सेवा विस्तार गरेको छ।
पहिले रिफर सेन्टरको रूपमा परिचित यो अस्पतालले हाल मेडिसिन, हाडजोर्नी, सर्जरी, स्त्री तथा प्रसूति रोग, रेडियोलोजी, एनेस्थेसियोलोजी र मानसिक रोगजस्ता विभागहरूमा विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ। अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट अर्जुन भट्टका अनुसार, छात्रवृत्ति करारमार्फत थपिएका विशेषज्ञ चिकित्सकहरूले सेवाग्राहीलाई थप सहज सेवा दिने व्यवस्था गरिएको छ।

“एकै विभागमा दुई वा तीन जना विशेषज्ञ हुँदा कसैले बिदा लिँदा पनि सेवा बन्द हुँदैन,” भट्टले बताए। पहिले एउटा विभागमा केवल एक जनामात्रै विशेषज्ञ हुँदा सेवा असुविधा हुन्थ्यो।
अस्पताल व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष कृष्णानन्द भट्टले विशेषज्ञ सेवा विस्तार भएपछि दैनिक ४०० देखि ५०० बिरामीले सेवा लिने गरेको जानकारी दिए।
हाल अस्पतालमा २८ दरबन्दीमध्ये एकजना मात्र स्थायी रूपमा कार्यरत छन् भने अन्य करारमा सेवा दिइरहेका छन्। सरकारले स्थायी पदपूर्तिमा ढिलाइ गर्दा करारमा चिकित्सक कार्यरत रहेको उनले बताए।

उनले थपे, “विशेषज्ञ सेवा थपिँदै गएको भए पनि भौतिक पूर्वाधार र उपकरणमा अझै ध्यान दिन आवश्यक छ। सबैभन्दा आवश्यक भनेको सिटिस्क्यान हो, जुन उपलब्ध भएपछि बिरामीहरूलाई अन्यत्र रिफर गर्नुपर्ने अवस्था हट्नेछ।”
महाकाली अस्पतालको विकासक्रमः विसं २०२० मा प्राथमिक स्वास्थ्य केन्द्रको रूपमा स्थापना, २०३१ मा २५ श्ययाको जिल्ला अस्पताल र २०४३ मा ५० श्ययाको अञ्चल अस्पताल (रिफर सेन्टर) बनेको थियो। सङ्घीयतापछि प्रादेशिक अस्पतालमा स्तरोन्नति हुँदै विशेषज्ञ सेवा थपिएको हो।
हाल अस्पतालमा मेडिसिन विभागमा ४ जना, हाडजोर्नीमा ३ जना, स्त्रीरोगमा ३ जना, बालरोगमा २ जना, नाक–कान–घाँटीमा २ जना, एनेस्थेसियोलोजीमा २ जना, सर्जरीमा ३ जना, रेडियोलोजीमा २ जना र मानसिक रोगमा १ जना विशेषज्ञ चिकित्सक कार्यरत छन्।
तर जनरल फिजिसियन, प्याथोलोजिस्ट र डर्माटोलोजिस्टका दरबन्दी अनुसारका चिकित्सक अझै नियुक्त हुन सकेका छैनन्।







