काठमाडौं- प्रतिनिधि सभाको उद्योग, वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिले ‘आयोडिनयुक्त नुन उत्पादन तथा वितरण ऐन, २०५५’ परिमार्जन गर्न सरकारलाई निर्देशन दिएको छ।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले ऐन समयसापेक्ष नभएको, अस्पष्ट व्यवस्था रहेको र हालको अवस्था अनुसार कार्यान्वयन गर्न कठिन भएको जनाएको छ।
समिति सभापति अब्दुल खानले मुलुकमा आयोडिनयुक्त नुनको आपूर्तिमा समस्या नहुने भए पनि निजी क्षेत्रलाई आपूर्तिको व्यवस्था गर्दा आपूर्ति श्रृंखला, मूल्य, गुणस्तर र दुर्गम क्षेत्रमा पर्ने प्रभावबारे व्यापक अध्ययन आवश्यक रहेको बताए।

समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई ऐन यथाशीघ्र संशोधन गरी स्पष्ट व्यवस्था ल्याउन निर्देशन दिएको छ।
अहिलेसम्म संशोधन नभएसम्म नुनको आपूर्तिमा कुनै परिवर्तन नगर्ने र चालू व्यवस्था अनुसार वितरण, ढुवानी तथा आपूर्ति गर्ने निर्देशन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पनि दिइएको छ।






