काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालमा जनसंख्या वृद्धिदर घट्दै गएको, तर युवा जनसांख्यिकीय लाभांशको सदुपयोग गर्न नसकिएको अवस्थामा सरकारले जनसंख्याका चुनौती सम्बोधन गर्न प्रयास थालेको बताएका छन्।
विश्व जनसंख्या दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री पौडेलले हालै नेपाल सरकारले राष्ट्रिय जनसंख्या नीति, २०८२ स्वीकृत गरेको जानकारी दिए।
“नेपालको अहिले देखिएको जनसांख्यिकीय चुनौती समाधान गर्न यो नीति मार्गदर्शन बन्नेछ,” मन्त्री पौडेलले भने, “तीनै तहका सरकारमार्फत प्रभावकारी कार्यक्रम सञ्चालन हुने मेरो विश्वास छ।”
उनले वर्तमान जनसंख्या संरचना, वितरण र त्यसबाट उत्पन्न अवसर र चुनौतीलाई व्यवस्थित गर्न प्रभावकारी कार्यक्रम आवश्यक रहेको औंल्याए।

ज्येष्ठ नागरिकहरूको संख्या बढ्दै गएको सन्दर्भमा मन्त्री पौडेलले उनीहरूको अनुभव, ज्ञान, सीप र क्षमताको अन्तरपुस्ता सञ्चारमार्फत उपयोग गर्नुपर्नेमा जोड दिए।
“युवा पुस्ताले चाहेजस्तो पारिवारिक वातावरण र आकार बनाउने, पारिवारिक सद्भाव कायम राख्ने, र समग्रमा जनसंख्याको प्रभावकारी व्यवस्थापन गर्नु अहिलेको आवश्यकता हो,” उनले सन्देशमा उल्लेख गरे।
मन्त्री पौडेलले राष्ट्रिय जनसंख्या नीतिको सफल कार्यान्वयनका लागि सबै सरोकारवालाहरूको सहयोग र सुझाव अपेक्षा गर्दै, जनसंख्या दिवसको सन्देशलाई व्यवहारमा उतार्न समन्वय र साझेदारीको आह्वान गरेका छन्।
“नेपालको जनसंख्यालाई उच्चतम सदुपयोग गर्दै, युवा पुस्ताको सपना साकार पार्न हामी सबै मिलेर अघि बढ्नुपर्छ,” मन्त्री पौडेलले भने।








