रुकुम पूर्व – रुकुम पूर्व अस्पतालमा फोन गर्दा नउठ्ने समस्या दीर्घकालीन बनेपछि नेपाल पत्रकार महासङ्घ रुकुम पूर्व शाखाले अस्पताललाई मोबाइल फोन र सिमकार्ड उपहार दिएको छ।
बुधबार महासंघका पदाधिकारीहरूले अस्पतालका निमित्त प्रमुख डा. कृष्ण खनाललाई भेटेर लाभा कम्पनीको किप्याड मोबाइल र नेपाल टेलिकमको सिमकार्ड हस्तान्तरण गरेका हुन्।

नेपाल पत्रकार महासङ्घ रुकुम पूर्वका अध्यक्ष वसन्त बाँठा मगरका अनुसार अस्पतालमा सेवाग्राहीले फोन गर्दा प्रायः नउठ्ने गुनासो वर्षेनि समीक्षा बैठकहरूमा उठ्ने गरेको थियो। “एम्बुलेन्स सेवामा त खासै समस्या छैन तर अन्य जानकारीका लागि फोन गर्दा उठ्दैन भन्ने गुनासो नियमित आउँछ,” उनले भने।

उनका अनुसार लामो समयदेखि समाधान नभएपछि महासङ्घका सदस्यहरूबीच छलफल गरी मोबाइल र सिम उपहार दिने निर्णय गरिएको हो।
“मोबाइलले अस्पताल र सेवाग्राहीबीच सम्पर्क सहज बनाओस् र अस्पतालको सेवा उत्तरदायी होस् भन्ने हाम्रो आशय हो,” अध्यक्ष मगरले बताए।
उनले थपे, “अस्पतालले अब उक्त मोबाइल ड्युटीमा खटिएका कर्मचारीलाई जिम्मेवारीका साथ चलाउन प्रतिबद्धता जनाएको छ। अब फोन उठाउनु पर्यो, २४ सै घण्टा सेवा दिन सक्ने व्यवस्था गरिनु पर्यो।”







