काठमाडौं- साझा यातायातमा कार्यरत चालक, सहचालक र कर्मचारीहरूका लागि आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा १५ जनामा दृष्टिदोषको समस्या देखिएको छ।
नेपाल नेत्रज्योति संघ काठमाडौं शाखा र साझा यातायातको संयुक्त आयोजनामा, कीर्तिपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा शनिबार परीक्षण कार्यक्रम सम्पन्न भएको हो।
नेपाल नेत्रज्योति संघ काठमाडौं शाखाका सभापति हुकुमप्रसाद पोखरेलका अनुसार शिविरमा १७९ जनाको आँखा परीक्षण गरिएको थियो। तीमध्ये दृष्टिदोष देखिएका १५ जनालाई निःशुल्क औषधि, नजिकको चस्मा र कालो चस्मा प्रदान गरिएको छ।

सभापति पोखरेलले चालकहरूको आँखाको स्वास्थ्यले यात्रुहरूको सुरक्षामा प्रत्यक्ष प्रभाव पार्ने उल्लेख गर्दै दृष्टि परीक्षणले दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए।
शिविरमा कीर्तिपुर आँखा अस्पतालकी नेत्ररोग विशेषज्ञ डा. मनिषा श्रेष्ठ र दीपा खड्काको नेतृत्वमा स्वास्थ्यकर्मीहरूको टोलीले सेवा दिएको थियो।
संघका अनुसार सन् २०२४ को अन्त्यसम्म नेत्रज्योति संघअन्तर्गत २८ आँखा अस्पताल, २२४ उपचार केन्द्र र ४५ जिल्ला शाखामार्फत ४ करोड ६८ लाख ६८ हजार ६० जनालाई सेवा दिइसकिएको छ। यस अवधिमा ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया सम्पन्न भइसकेको छ।








