काठमाडौँ- वीर अस्पतालले डिजिटल प्रविधिको प्रयोग गरी एक वर्षीया बालिकाको नमिलेको टाउको सफलतापूर्वक मिलाएको छ। प्युठानकी बालिकामा देखिएको जटिल टाउको सम्बन्धी समस्या ‘क्रेनियोसिनोस्टोसिस’ को सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ।
मुख तथा अनुहार शल्य चिकित्सक डा. किशोर भण्डारीका अनुसार शल्यक्रिया न्युरो सर्जरी र क्रोनियो–म्याक्सिलोफेसियल सर्जरी विभागको सहकार्यमा गरिएको हो। अस्पतालले तीन वर्षअघि पनि यस्तै प्रकृतिको शल्यक्रिया डिजिटल प्रविधिबाट गरिसकेको डा. भण्डारीले जानकारी दिए।
उनका अनुसार शल्यक्रियामा करिब ६ घण्टा लागेको थियो। शल्यक्रिया अन्तर्गत बालिकाको अनुहार र निधारको हड्डी निकालेर पुनः मिलाइएको हो। बालिका अहिले स्वस्थ भएर घर फर्किसकेकी छिन्। टाउको र बायाँ आँखा वरिपरि असामान्यता देखिएपछि उनलाई उपचारका लागि वीर अस्पताल ल्याइएको थियो।
क्रेनियोसिनोस्टोसिस के हो?
यो समस्या जन्मजात हुन्छ। वीर अस्पतालका न्युरो सर्जन डा. राजीव झाका अनुसार २५ सय बच्चामध्ये एक जनामा मात्र यो समस्या देखिन्छ। जन्मेको बेला शिशुको टाउकोमा रहेको खुल्ला भाग (स्यूचर) मार्फत मस्तिष्क र खोपडीको विकास हुन्छ। तर क्रेनियोसिनोस्टोसिसको अवस्थामा त्यो भाग समयभन्दा अघि नै बन्द हुन्छ, जसले टाउकोको आकार असामान्य बनाउँछ र मस्तिष्क विकासमा असर पुर्याउँछ।

समयमै उपचार नभएमा टाउकोको बनावट बिग्रनु, अनुहार अमिल्दो देखिनु, मस्तिष्कमा चाप बढ्नु, सास फेर्न समस्या र आँखामा असरजस्ता जटिलता देखा पर्न सक्छन्। टाउको लामो, साँघुरो, त्रिकोणात्मक, अथवा असमान आकारको देखिन सक्छ।
शल्यक्रिया तीनदेखि आठ महिनाभित्र गरिसक्नुपर्ने डा. झाको भनाइ छ। प्रारम्भिक उमेरमा उपचार गर्दा हड्डी नरम हुने भएकाले सजिलै मिलाउन सकिन्छ।
यो समस्या हुनुका ठोस कारण नखुले पनि वंशाणुगत असर, गर्भावस्थामा भ्रूणको अवस्थिति, वा केही औषधीको प्रयोगले यस्तो हुन सक्ने अनुमान छ। सिटी स्क्यान, एमआरआई वा अल्ट्रासाउन्डमार्फत यो समस्या पत्ता लगाउन सकिन्छ।
डा. झाले टाउकोको आकृति असामान्य देखिए वा विकास सुस्त देखिए बाल रोग विशेषज्ञसँग चाँडै परामर्श गर्न सुझाव दिएका छन्।








