झापा- झापामा डेंगु संक्रमण फैलिन थालेको छ। गर्मी बढेसँगै संक्रमण दर बढ्दै गएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।

स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन युवनाथ बरालका अनुसार शिवसताक्षी नगरपालिकाकी सुमन राईकी छोरी सुरविरा राईको डेंगु संक्रमणका कारण शुक्रबार मृत्यु भएको हो। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई तत्काल बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएको थियो। तर, शुक्रबार बिहान साढे ८ बजे उनको मृत्यु भएको जानकारी बरालले दिएका छन्।

यो घटनालाई झापामा डेंगु संक्रमणका कारण भएको यस वर्षको पहिलो मृत्युका रूपमा स्वास्थ्य कार्यालयले पुष्टि गरेको छ। कार्यालयका अनुसार वैशाख यता झापामा ५५ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ।
Last Modified Date: २०८२ असार २२, आईतवार







