
काठमाडौँ– अब बीमितले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत साउन १ गतेदेखि जुनसुकै स्वीकृत स्वास्थ्य संस्थाबाट सेवा लिन सक्ने भएका छन्।
स्वास्थ्य सेवा प्राप्त गर्न कठिन भएको गुनासो बढेपछि स्वास्थ्य बीमा बोर्डले सेवामा सहजता ल्याउने उद्देश्यले यस्तो निर्णय गरेको हो।
बोर्डका अनुसार आर्थिक वर्ष २०८२/८३ को प्रारम्भसँगै बीमितले स्वास्थ्य प्रथम सेवा विन्दुको रूपमा अनुमति प्राप्त गरेका कुनै पनि सेवा प्रदायक स्वास्थ्य संस्थाबाट सेवा लिन सक्ने व्यवस्था लागू हुने छ।
यसअघि बीमितले केवल तोकिएको एउटै प्रथम सेवा विन्दुबाट मात्र सेवा लिनुपर्ने बाध्यता थियो। तर, स्वास्थ्य बीमा ऐन, २०७४ र नियमावली, २०७५ मा भएको संशोधनपछि अब बीमितलाई जुनसुकै अनुमोदित सेवा प्रदायकबाट उपचार सेवा लिन सक्ने कानुनी व्यवस्था गरिएको छ।



