

काठमाडौं – देशभर औषधि आपूर्तिको गुनासो बढेपछि प्रतिनिधिसभाको उद्योग, वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिले नेपाल औषधि लिमिटेडको स्थलगत अनुगमन गरेको छ।
औषधि उत्पादनको अवस्था, कच्चा पदार्थ आपूर्तिमा देखिएको समस्या, आर्थिक अभाव र सरकारी कार्यालयहरूले औषधि खरिद नगर्ने जस्ता विषयमा जानकारी लिन समितिले अनुगमन गरेको हो।
समिति सभापति अब्दुल खानका अनुसार औषधि लिमिटेडसँग आवश्यक जनशक्ति, प्रविधि र पूर्वाधार भए पनि कच्चा पदार्थको आयातमा अवरोध, बजेटको अभाव र सरकारी उपेक्षाले उत्पादन सीमित भएको गुनासो आएको छ।
हाल लिमिटेडले जम्मा ११ प्रकारका औषधिमात्र उत्पादन गरिरहेको छ। तर कच्चा पदार्थ आपूर्तिमा सहजता र स्रोत सुनिश्चित गरिएमा ९८ प्रकारका औषधि उत्पादन गर्न सक्ने क्षमता रहेको लिमिटेडको भनाइ छ।
“नीतिगत अस्पष्टता र सरकारी खरिद प्रक्रियाको कमजोरीकै कारण निजी कम्पनीका औषधि सरकारी अस्पतालमा आपूर्ति भइरहेको छ, तर आफ्नै संस्थाको उत्पादनप्रति सरकार उदासीन देखिन्छ,” सभापति खानले भने।
जनताले औषधि नपाएको उजुरीका आधारमा अनुगमनमा गएको समितिले अब औषधि लिमिटेडको समस्या छलफलमार्फत समाधान गर्न सरकारलाई सुझाव दिने जनाएको छ।



