कैलाली- सुदूरपश्चिम प्रदेशमा रेबिज विरुद्धको खोपको अभाव भएको छ। कैलाली र कञ्चनपुरका प्रमुख अस्पतालहरू, जसमा सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पताल र टीकापुर अस्पताल समेत अहिले रेबिज खोप उपलब्ध छैन। प्रदेश सरकारले पहाडी जिल्लाका केही स्वास्थ्य संस्थामा थोरै खोप हुन सक्ने जनाए पनि अधिकांश स्थानमा अभाव देखिएको छ।

नेपाल सरकारले प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रमार्फत निःशुल्क खोप पठाउने व्यवस्था गर्दै आएको भए पनि हाल केन्द्रबाट खोप नपठाइएकाले सुदूरपश्चिममा अभाव देखिएको हो।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, धनगढीका निमित्त प्रमुख झनक ढुङ्गानाका अनुसार सुदूरपश्चिममा खोप अभाव भएको र यसअघि विनियोजित १० लाख रुपैयाँ खर्च भइसकेको जानकारी दिएका छन्।

ढुङ्गानाका अनुसार संघीय सरकारले रेबिज खोप खरिदका लागि बोलपत्र आह्वान गरिसकेको छ। अबको एक हप्ताभित्र सुदूरपश्चिममा खोप आइपुग्ने अपेक्षा गरिएको छ।







