काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का सांसद घनश्याम रिजालले राजधानीस्थित राष्ट्रिय ट्रमा सेन्टरमा आईसीयू सेवा विस्तार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै सांसद रिजालले ट्रमा सेन्टरमा आईसीयू सेवा विस्तार तथा एमआरआई सेवा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए । उनले अन्तर्राष्ट्रिय प्रोटोकलअनुसार ट्रमा अस्पतालमा बेड क्षमताको कम्तीमा ३० प्रतिशत आईसीयू सेवा उपलब्ध हुनुपर्नेमा ट्रमा सेन्टरमा उक्त मापदण्डको पालना नगरिएको बताए ।

उनकाअनुसार ट्रमा अस्पतालमा हाल २०० बेडमध्ये १० वटा मात्रै आईसीयू कक्ष सञ्चालनमा छन् । उनले ट्रमा सेन्टरमा अहिले कार्यरत जनशक्तिले नै थप ५० आईसीयू सेवा दिनसक्ने सम्भावना रहेको भन्दै तत्काल सेवा विस्तार र एमआरआई जडानका लागि सरकारसँग माग गरे ।
उनले ट्रमामा आएका बिरामीहरूले आईसीयूकाे अभावमा अन्यत्र जानुपर्ने तथा अकालमै ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराए ।







