नेपाली समाजमा परम्परागत रूपमा असार १५ का दिन दही–चिउरा खाने चलन रहेको छ। खेतमा रोपाइँ गरेपछि थकान मेट्ने, शरीरलाई शीतलता दिने र ऊर्जा प्रदान गर्ने गुणका कारण दही–चिउरा यस दिन विशेषरूपमा खाइन्छ। तर, यो परिकार केवल परम्पराको हिस्सा मात्र नभई स्वास्थ्यको दृष्टिले पनि अत्यन्त लाभदायक छ।
दहीका फाइदाहरू
– दहीमा क्याल्सियम, पोटासियम, सोडियम र भिटामिन पाइन्छ, जसले हड्डी र मांशपेशीलाई बलियो बनाउँछ।
– यसमा पाइने ल्याक्टोब्यासिलस ब्याक्टेरियाले पाचन प्रक्रियामा सहायता गर्छ।
– दही सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
– पेटको गडबडी, विशेषतः पखालाका लक्षणहरू हुँदा दही उपयोगी मानिन्छ।
– चिसो लाग्ने डर भएकाले राति नखान सुझाव दिइन्छ, तर ठीक तापक्रममा खाँदा हानिकारक हुँदैन।

चिउराका फाइदाहरू
– चिउरा पकाउन नपर्ने, सजिलै खाइने खाद्यवस्तु हो।
– यसमा प्रशस्त मात्रामा कार्बोहाइड्रेट पाइन्छ, जसले शरीरलाई ऊर्जा प्रदान गर्छ।
– फलामको ओखलमा कुटिएको चिउरामा आइरनको मात्रा बढी हुन्छ।
– यसमा प्रोटिन र आइरन पनि पाइन्छ, जुन शरीरको लागि उपयोगी हुन्छ।

दही–चिउरा सँगै खाँदा हुने फाइदा
दही र चिउरा दुबैलाई एकसाथ खाँदा शरीरलाई आवश्यक पर्ने कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, पोटासियम, भिटामिन र अन्य खनिज तत्त्वहरू एकैपटक प्राप्त गर्न सकिन्छ।
मधुमेह भएका व्यक्तिले चिनी मिसाएर दही नखानु उपयुक्त हुन्छ भने सकेसम्म घरमै बनाइएको दही प्रयोग गर्न सल्लाह दिइन्छ।
दही–चिउरा केवल असार १५ मा मात्र होइन, अन्य समयहरूमा पनि खाँदा शरीरलाई पोषण दिन्छ र रोगबाट जोगिन मद्दत पुर्याउँछ। परम्पराको रूपमा थालिएको यो चलन स्वास्थ्यका दृष्टिले पनि अति उपयोगी छ।







