काठमाडाैं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले थाइल्याण्डको स्वास्थ्य प्रणालीबाट नेपालमा गर्न सकिने सुधारका सम्भावनाबारे नेपाली समुदायसँग अन्तरक्रिया गरेका छन्।
जनसङ्ख्या नीति सम्बन्धी संयुक्त राष्ट्रसंघीय मन्त्रिस्तरीय बैठकमा सहभागी हुन बैंकक पुगेका मन्त्री पौडेलले, नेपाली राजदूतावासको आयोजनामा आयोजित कार्यक्रममा, थाइल्याण्डमा कार्यरत नेपाली स्वास्थ्य नीति निर्माता, विज्ञ तथा मेडिकल विद्यार्थीहरूसँग विचार आदानप्रदान गरेका हुन्।
मन्त्री पौडेलले थाइल्याण्डको स्वास्थ्य उपचार प्रणाली, मेडिकल शिक्षा र स्वास्थ्य बीमा प्रणालीबारे थाहा पाएका अनुभव नेपाली स्वास्थ्य प्रणाली सुधारका लागि उपयोगी हुने विश्वास व्यक्त गरे। उनले मन्त्रालयले हाल नीति निर्माण, स्वास्थ्य सेवा विस्तार र बीमामा सुधारका कदम अघि बढाएको जानकारी समेत दिए।

कार्यक्रममा नेपाली राजदूत धनप्रसाद ओलीले थाइल्याण्डमा चिकित्सा क्षेत्रमा संलग्न नेपालीहरूसँगको सहकार्यले आगामी दिनमा थप सम्भावनाको ढोका खोल्ने बताए।
साथै, स्वास्थ्य सेवा प्रवाहमा संलग्न प्रविधिकर्मीहरूले आफ्ना एपहरू नेपालमा विस्तार गर्न इच्छुक रहेको बताए भने स्वास्थ्य बीमा जानकारहरूले थाइल्याण्डको अभ्यासबारे जानकारी गराए।
मन्त्री पौडेलले गैरआवासीय नेपालीहरूसँग पनि छलफल गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।








