कोहलपुर – बाँकेको डुडुवा गाउँपालिका–२ की २२ महिने जुगुन्तीको तौल जम्मा ५ किलो छ। उनको अनुहार खिइएको, शरीर शिथिल देखिन्छ। चिकित्सकहरूले उनलाई ‘गम्भीर कुपोषण’ को श्रेणीमा राखेका छन्। यही वडाकी ११ महिने राधिका खटिकको तौल ४ किलो मात्र छ।
यी बालबालिका बाँकेका कुपोषित बालबालिकामध्ये केही प्रतिनिधि मात्र हुन्। स्वास्थ्य कार्यालय बाँकेका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका ५ हजार ५१३ बालबालिकामा कुपोषण देखिएको छ। तीमध्ये ७८२ जनामा ‘कडा शीघ्र कुपोषण’र २ हजार ५२७ जनामा मध्यम कुपोषण पाइएको छ।

यसअघिका वर्षहरूमा पनि कुपोषणको दर उस्तै उच्च देखिएको छ। २०७९/८० मा ५०,३९३ र २०८०/८१ मा ६३,०९९ बालबालिकामा कुपोषण देखिएको थियो।
स्वास्थ्य सेवा विभागका अनुसार कुपोषण परीक्षणमा ० देखि २३ महिनाका बालबालिकामा कुपोषणको दर सबैभन्दा बढी देखिएको छ। पोषण शाखा प्रमुख लीलाविक्रम थापाका अनुसार पाखुरा मापनको रङका आधारमा कुपोषणको अवस्था छुट्याइन्छ – हरियो (सामान्य), पहेँलो (मध्यम) र रातो (कडा कुपोषण)।
बालरोग विशेषज्ञ डा. रोमा बोहोराले कुपोषणका लक्षणमा फुस्रो कपाल, दुब्लोपन, अनुहार चाउरिनु, चिडचिडेपन र खानामा अरुचि देखिने बताउँदै, घरमै बनाइने लिटो तथा सन्तुलित भोजन कुपोषण रोकथामका लागि प्रभावकारी उपाय भएको बताइन्।

लुम्बिनी प्रदेश सरकारले गत वर्ष बाँकेमा कुपोषण न्यूनीकरणका लागि ११ लाख ८० हजार रुपैयाँ बजेट दिएको थियो, जसमा १ लाख ५० हजार खर्च हुन सकेन। यस वर्ष ४६ हजार बालबालिकाको पोषण परीक्षण लक्ष्य भए पनि लक्ष्यभन्दा बढी परीक्षण गरिएको पोषण फोकल पर्सन देवनारायण उपाध्यायले जानकारी दिए।
हाल बाँकेमा गम्भीर कुपोषित बालबालिकाका लागि ३६ वटा बहिरङ्ग उपचार केन्द्र सञ्चालनमा छन्। आवश्यक बालबालिकालाई भेरी अस्पतालको पोषण पुनःस्थापना गृहमा रेफर गरिन्छ। साथै, कडा कुपोषित बालबालिकालाई निःशुल्क रेडी–टु–यूज थेराप्युटिक फुड र पोषणयुक्त आहार उपलब्ध गराइन्छ।







