

काठमाडौँ- स्वास्थ्य सेवाबाट वञ्चित समुदायलाई लक्षित गर्दै सेवा पुर्याउँदै आएको बीएम फाउण्डेसनले पछिल्लोपटक सुर्खेतको बीरेन्द्रनगर–१३ स्थित जरबुटा करै खोलामा निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न गरेको छ।
शिविर गत ४ असारमा आयोजित गरिएको हो, जसमा एकै दिनमा ५५९ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। फाउण्डेसनका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठका अनुसार, शिविरमा ३१३ जनाको आँखा र २४६ जनाको दन्त परीक्षण गरिएको थियो।
शिविरमा आँखाका लागि परीक्षण, चस्मा वितरण र औषधि निःशुल्क वितरण गरिएको थियो भने दन्त तर्फ दाँत सफा गर्ने, भर्ने, निकाल्ने सेवा प्रदान गरिएको थियो।

फाउण्डेसनको आयोजनामा भएको उक्त शिविरमा सह-आयोजकको रूपमा बीरेन्द्रनगर वडा नं. १३, कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल र केडीसी जनरल हस्पिटल सहभागी थिए। साथै, गरिमा विकास बैंकले सहयोगी संस्थाको रूपमा समर्थन जनाएको थियो।
शिविरमा डा. सोनु श्रेष्ठ, डा. कृतिका थापा, डा. रिमा भारती, डा. काजोल भण्डारी लगायतको टोली खटिएको थियो। दन्त हाईजिनिष्ट र प्राविधिक तथा जनस्वास्थ्य अधिकृतहरूसमेत सक्रिय थिए।

शिविरको अवसरमा नेपाल राष्ट्रिय माविका कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूलाई दन्त सरसफाइसम्बन्धी प्रशिक्षण पनि दिइएको थियो।
उद्घाटन कार्यक्रममा वडा अध्यक्ष दीपेन्द्रराज कोइरालाले टाढाको क्षेत्रसम्म सेवा पुर्याएकोमा बीएम फाउण्डेसनलाई धन्यवाद दिँदै खुसी व्यक्त गरे। कार्यक्रममा गरिमा विकास बैंकका क्षेत्रीय प्रवन्धक प्रकाश देवकोटा र ब्राञ्च म्यानेजर विशाल अधिकारी पनि सहभागी थिए।



