

काठमाण्डौं — गोरखापत्र दैनिकमा कार्यरत पत्रकार सरोज ढुङ्गेललाई यस वर्षको ‘सुदर्शन देवकोटा स्मृति पाँचौँ राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार २०८२’ प्रदान गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या पूर्वमन्त्री पदम गिरी र डा. शुधा देवकोटालगायतले संयुक्त रूपमा ढुङ्गेललाई रु. ३३,३३३ नगदसहित सम्मान गरेका हुन्।
पुरस्कार वितरण कार्यक्रम स्व. सुदर्शन देवकोटाको १८औँ पुण्यतिथिको अवसरमा सारदा सुदर्शन देवकोटा फाउण्डेशनद्वारा आयोजित थियो। सो फाउण्डेशनले स्वास्थ्य पत्रकार मञ्चसँग सहकार्य गर्दै पाँच वर्षदेखि यो पुरस्कार प्रदान गर्दै आएको छ।

कार्यक्रममा पूर्व मन्त्री गिरीले स्वास्थ्य पत्रकारितालाई गहन विषय भन्दै यसमा संलग्न पत्रकारहरूले सार्थक र तथ्यमा आधारित लेखन गर्नुपर्नेमा जोड दिए। उनले स्वास्थ्य क्षेत्रमा अझै गम्भीर चुनौतीहरू रहेको र आधारभूत स्वास्थ्य सेवा पनि प्रभावकारी बन्न नसकेको स्वीकार गरे।
डा. शुधा देवकोटाले आफ्ना पिताको स्मृतिमा स्थापना गरिएको यो पुरस्कार पत्रकारितालाई जिम्मेवार र तथ्यपरक बनाउने उद्देश्यले स्थापना गरिएको बताइन्। उनले राज्यलाई जिम्मेवार बनाउन पत्रकारहरूले अझै धेरै क्षेत्र उजागर गर्नुपर्ने आवश्यकता औंल्याइन्।
वरिष्ठ पत्रकार उमेश चौहानले दुर्गम क्षेत्रका स्वास्थ्यकर्मीको अवस्था उजागर गर्ने जिम्मेवारी पत्रकारहरूको रहेको बताए। उनले सामाजिक सञ्जालले पत्रकारिता चुनौतीमा पारेको भए पनि मुख्य धारका पत्रकारहरूले नै दीर्घकालीन प्रभाव पार्ने धारणा राखे।
स्वास्थ्य पत्रकार मञ्चका पूर्व अध्यक्ष रामप्रसाद न्यौपाने र कार्यवाहक अध्यक्ष बुद्धि कटेलले यस पुरस्कारले स्वास्थ्य पत्रकारहरूलाई थप प्रेरणा दिएको बताए।
पुरस्कृत पत्रकार ढुङ्गेलले पुरस्कारले आफूलाई समाजमा सकारात्मक प्रभाव पार्ने समाचार लेखनमा थप हौसला मिलेको प्रतिक्रिया दिएका छन्।


