

बैतडी- बैतडीको सुर्नया गाउँपालिका–७ र ८ मा ठेउला रोगको संक्रमण पुष्टि भएको छ। स्वास्थ्यकर्मीको टोलीले स्थलगत अनुगमनपछि १२ जनाभन्दा बढीमा संक्रमण देखिएको जनाएको छ, जसमा बालबालिका बढी प्रभावित छन्।
स्वास्थ्य शाखा तथा स्वास्थ्य कार्यालय बैतडीको समन्वयमा प्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाइएको छ। गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराका अनुसार संक्रमितहरूमा बिमिरा आउने, ज्वरो, खोकीजस्ता लक्षण देखिएका छन्।
महराले संक्रमितलाई छुट्टै आइसोलेसनमा राख्न आग्रह गरिएको जानकारी दिँदै, “स्वास्थ्यकर्मीले घरदैलोमै पुगेर प्रारम्भिक उपचार र सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन्,” भने।
यसैबीच, रोग ठेउलाकै संक्रमण हो कि भन्ने यकिन गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को टोली समेत सुर्नया–७ र ८ मा स्थलगत अनुगमन र परीक्षणका लागि पुग्न लागेको छ।
स्वास्थ्य कार्यालय बैतडीले यसअघि नै प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली खटाइसकेको छ। शिखरपुर स्वास्थ्य चौकीका प्रमुख वीरबहादुर बोहोराले प्रभावित बस्तीमा निरन्तर स्वास्थ्य सेवा तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिएका छन्।


