काठमाडौं – मलेसियामा कार्यरत नेपाली श्रमिकहरूमध्ये विशेषगरी सुरक्षा गार्डहरूमा मिर्गौला सम्बन्धी समस्या व्यापक देखिएको भन्दै यसबारे औपचारिक अनुसन्धान हुने भएको छ।
नेपाली सुरक्षा गार्डहरूको स्वास्थ्य अवस्था अध्ययन गर्न बेलायतको बोर्नमाउथ विश्वविद्यालय, मलेसियाको मलाया विश्वविद्यालय र नोर्थ साउथ इन्स्टिच्युट मलेसियाले संयुक्त अनुसन्धान गर्ने भएका छन्। मलेसियास्थित नेपाली राजदूत नेत्र तिम्सिनाले यसबारे जानकारी दिएका हुन्।

क्वालालम्पुरस्थित नेपाली दूतावासमा आयोजित छलफलका क्रममा मलेसियाका ट्रेड युनियनहरू र नेपाली प्रवासी श्रमिक संघको सहभागितामा अध्ययनको तयारी भइरहेको जानकारी दिइएको थियो।
राजदूत तिम्सिनाका अनुसार, सुरक्षा गार्डका रूपमा कार्यरत नेपालीहरूमध्ये मिर्गौला रोगीको संख्या अन्य पेशामा भन्दा उच्च देखिएको छ। यस समस्याको कारण पत्ता लगाई नीतिगत समाधान खोज्ने र सरोकारवालालाई सुझाव दिने यो अनुसन्धानको मुख्य उद्देश्य रहेको उनले बताए।
उनले थपे, “अनुसन्धानबाट प्राप्त हुने निष्कर्षले नेपाली श्रमिकको स्वास्थ्य सुधारमा टेवा पुर्याउने भएकाले आवश्यक परे दूतावासले नेपाली श्रमिकहरूसँग समन्वय गर्दै पूर्ण सहयोग गर्नेछ।”








