

स्याङ्जा – अब स्याङ्जाका नागरिकले सर्पदंशको उपचारका लागि पोखरा वा पाल्पा जानुपर्ने आवश्यकता छैन। जिल्लाका आठ स्वास्थ्य संस्थामा सर्पदंश उपचार सेवा सुरु भएपछि बिरामीहरूलाई राहत मिलेको छ।
प्रदेश जनस्वास्थ्य कार्यालयको पहलमा तालिम प्राप्त स्वास्थ्यकर्मी, आवश्यक उपकरण र औषधिसहित सेवा विस्तार गरिएको हो। कार्यालय प्रमुख केशवप्रसाद चापागाँइका अनुसार स्याङ्जाका छ वटा स्थानीय तहका अस्पताल र दुई प्राथमिक स्वास्थ्य केन्द्रबाट सर्पदंश उपचार सेवा दिइन थालिएको हो।
चापाकोट, भीरकोट, गल्याङ, वालिङ, पुतलीबजार, आँधीखोला लगायतका स्थानमा रहेका स्वास्थ्य संस्थाबाट अब सर्पदंश उपचार सहज रूपमा हुने उनले बताए। विशेषगरी चापाकोट नगर क्षेत्र सर्पदंशको उच्च जोखिमयुक्त क्षेत्रका रूपमा चिनिएको छ। कालीगण्डकी किनार नजिकको भू–भाग भएकाले यहाँ वार्षिक २०० देखि २५० जनासम्म सर्पले डस्ने गरेको तथ्याङ्कमा उल्लेख छ।
स्वास्थ्यकर्मीहरूलाई विषालु र विषरहित सर्प छुट्याउने तालिम दिइएको छ। पहिले उपचार नपाएर अकालमै मृत्यु हुने अवस्था भए पनि अहिले समयमै स्वास्थ्य सेवा पाउने अवस्था बनेको चापाकोट नगर प्रमुख देवबहादुर खाँणले बताए।
चापाकोट नगर अस्पतालका डा अर्जुन पाण्डेका अनुसार सेवा सुरु भएसँगै केवल स्याङ्जा मात्रै होइन, छिमेकी तनहुँ, पाल्पा र नवलपुर जिल्लाका नागरिक पनि लाभान्वित हुनेछन्। आवश्यक उपकरणहरू जडान भइसकेको र सेवा नियमित रूपमा सञ्चालन भइरहेको उनले जानकारी दिए।


