

काठमाडौँ- सरकारले क्यान्सर रोगको उपचारमा आर्थिक रूपमा कमजोर बिरामीलाई लक्षित गरी १४ अस्पतालमार्फत सहुलियत सेवा उपलब्ध गराउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बागमती र कोशी प्रदेशमा रहेका ती अस्पतालहरूबाट क्यान्सरसम्बन्धी शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी, औषधि, शय्या तथा प्रयोगशालाजस्ता सम्पूर्ण सेवा सहुलियत दरमा उपलब्ध हुनेछ।
मन्त्रालयले प्रत्येक बिरामीलाई एक लाख रुपैयाँसम्मको उपचार सेवा निःशुल्क वा सहुलियतमा दिने व्यवस्था मिलाएको जनाएको छ। यस्तो सेवा प्राप्त गर्न चाहनेले आफू स्थायी रूपमा बसोबास गर्दै आएको वडाबाट सिफारिस पत्र लिनुपर्नेछ। त्यसपछि पालिका कार्यालयबाट सिफारिस गराई सम्बन्धित अस्पतालमा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ।
हालका लागि बागमती प्रदेशका प्रमुख अस्पतालहरू वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, पाटन अस्पताल, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, निजामती कर्मचारी अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (चितवन), चितवन मेडिकल कलेज, भक्तपुर क्यान्सर अस्पताल, क्यान्सर केयर नेपाल (जाउलाखेल), काठमाडौँ क्यान्सर सेन्टर (ताथली), नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर तथा धुलिखेल अस्पतालबाट यो सेवा उपलब्ध हुने मन्त्रालयले जनाएको छ।
त्यस्तै, कोशी प्रदेशमा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत सेवा सञ्चालन हुने भएको छ।
मन्त्रालयले अन्य प्रदेशका अस्पतालहरूमा पनि क्रमशः यो सेवा विस्तार गरिने जनाएको छ।


