डडेल्धुरा। डडेल्धुरा अस्पतालमा मृत जन्मदरको समस्या अझै पनि गम्भीर चुनौतीका रूपमा कायमै छ। चालू आर्थिक वर्षको वैशाख महिनासम्म अस्पतालमा २२ शिशु मृत जन्मिएका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा मृत जन्म संख्या केही घटे पनि समस्या समाधान भएको छैन।
स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशर साउदका अनुसार आर्थिक वर्ष २०७९/८० मा डडेल्धुरा अस्पतालमा २,१५८ शिशुको जन्म भएकोमा २४ शिशु मृत जन्मिएका थिए। त्यसपछिको वर्ष २०८०/८१ मा जन्म संख्या घटेर १,८८१ पुगे पनि मृत जन्म ३८ मा उक्लिएको थियो। चालू आर्थिक वर्षमा वैशाख महिनासम्म १,६२८ शिशुको जन्म भइसकेको छ, तर वर्षको दुई महिना अझै बाँकी रहेकाले मृत जन्मदर अझ बढ्न सक्ने साउदको भनाइ छ।
उनका अनुसार मृत जन्मको प्रमुख कारणमध्ये प्लासेण्टा (placenta) सम्बन्धी समस्या पहिलो नम्बरमा पर्छ। शिशुलाई अक्सिजन आपूर्ति गर्ने प्लासेण्टा पाठेघरको भित्ताबाट चाँडै छुट्टिएमा बच्चालाई अक्सिजन नपुग्ने र मृत्यु हुने सम्भावना धेरै हुने उनले बताए। त्यस्तै, शिशुको नाभी र प्लासेण्टाबीचको पाइप (umbilical cord) कहिलेकाहीँ बच्चाको घाँटीमा बेरिन जानु पनि मृत जन्मको अर्को जोखिम हो।

साथै, आमाको स्वास्थ्य अवस्थाले पनि शिशुको जीवनमा प्रभाव पार्ने उनले बताए। उच्च रक्तचाप, मधुमेह (सुगर), थाइराइड जस्ता रोगले मृत जन्मको जोखिम बढाउने उल्लेख गर्दै उनले धूमपान, मद्यपान, वायु प्रदूषण र घरको धुवाले समेत नकरात्मक असर पार्न सक्ने बताए।
शिशुको शारीरिक विकासमा हुने समस्या, जन्मजात विकृति, मुटु वा मस्तिष्कको अपूर्ण विकास पनि मृत जन्मको कारण बन्न सक्ने भन्दै उनले ३०–५० प्रतिशत मृत जन्मको कारण स्पष्ट नहुने बताएका छन्।
साउदका अनुसार, समयमै पहिचान र स्वास्थ्य परीक्षणले मृत जन्मदर घटाउन सकिन्छ। “आमाको स्वास्थ्य अवस्था र शिशुको विकासको निगरानीका लागि कम्तीमा आठ पटक जाँच आवश्यक हुन्छ,” उनले भने, “ग्रामीण क्षेत्रमा पनि रुलर अल्ट्रासाउण्ड र एएनसी परीक्षण हुन थालेकाले समयमै खतरा पहिचान गर्न सकिन्छ।”








