

बैतडी- बैतडीको सुर्नया गाउँपालिकाको वडा नम्बर ७ र ८ मा ठेउला रोग फैलिँदा बालबालिका प्रभावित भएका छन्। संक्रमण तीव्र रुपमा फैलिन थालेपछि केही विद्यालयमा पठनपाठन स्थगित गरिएको छ।
सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराका अनुसार बालबालिकामा ठेउला देखिन थालेपछि सतर्कता अपनाउन आग्रह गरिएको छ। सरुवा प्रकृतिको यो रोग एक व्यक्तिबाट सजिलै अर्कोमा सर्ने भएकाले बालबालिका, गर्भवती महिला र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकालाई बढी जोखिम हुने उनको भनाइ छ।
महराका अनुसार ठेउला लागेमा ज्वरो आउने, शरीरभरि बिमिरा देखिने, दुखाइ हुने, भोक नलाग्नेजस्ता लक्षण देखिन्छन्। यस्ता लक्षण देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरिएको छ।
संक्रमण फैलिन नदिनका लागि संक्रमितलाई केही समय होम आइसोलेसनमा राख्नुपर्ने र व्यक्तिगत तथा वातावरणीय सरसफाइमा विशेष ध्यान दिनुपर्ने महराले बताए।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोगराज जोशीले पनि केही स्थानमा ठेउला देखिएको पुष्टि गर्दै सबै पक्षलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।


